वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान र विराटनगर आँखा अस्पताल (BEH), विराटनगरबीच समय नपुगी जन्मिएका (Premature) तथा उच्च जोखिममा रहेका नवजात शिशुहरूको आँखाको विशेष परीक्षण (ROP Screening) सेवा सञ्चालन गर्ने विषयमा द्विपक्षीय समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. स्मृति कार्कीज्यू र विराटनगर आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ललित अग्रवालज्यूले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार अब प्रतिष्ठानको NICU मा भर्ना भएका नवजात शिशुहरूका लागि विराटनगर आँखा अस्पतालका दक्ष प्राविधिक टोलीद्वारा साप्ताहिक रूपमा निःशुल्क आरओपी (Retinopathy of Prematurity) स्क्रिनिङ सेवा प्रदान गरिनेछ । परीक्षणका क्रममा कुनै शिशुमा आँखासम्बन्धी समस्या देखिएमा विराटनगर आँखा अस्पतालमै थप विशेषज्ञ जाँच तथा उपचारको व्यवस्था मिलाइनेछ भने डिस्चार्ज भइसकेका शिशुको फलोअपका क्रममा समस्या देखिएमा समेत प्रतिष्ठानका बालरोग विशेषज्ञको परामर्शमा उपचारका लागि रिफर गरिनेछ ।
यसका साथै, सेवालाई प्रभावकारी बनाउन दुवै संस्थाले सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेर बालरोग तथा नेत्ररोग विशेषज्ञ टोलीबीचको समन्वयलाई अझ सुदृढ बनाउने र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा समेत सहकार्य गर्ने सहमति भएको छ । यस महत्वपूर्ण सहकार्यले नवजात शिशुहरूमा हुन सक्ने अन्धोपन तथा दृष्टिविहीनता न्यूनीकरण गर्न र गुणस्तरीय बाल आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।








