काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माण कार्यको शिलान्यास गरेकी छन्।
डङ्गोलका अनुसार पुल रु चार करोड ७१ लाख ३४ हजार ७२७ मा निर्माण गरिने छ। निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य महानगरको छ। पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या सार्न मिल्नेगरी लिफ्ट जडान गरिनेछन्।
अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने हालको बाध्यता पुल र लिफ्ट सञ्चालनमा आएपछि अन्त्य हुने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्याङ पनि निर्माण गरिने श्रेष्ठले बताउनुभयो ।








