कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आज मंसिर १० गतेदेखि खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ८ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याएको छ। उक्त सेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९० लाख रुपैयाँबराबरको ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन्।
आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको सीमा तोकिएको छ।
स्थानीय बासिन्दाका लागि सेयर आवेदन दिने अवधि छिटोमा मंसिर २४ गतेसम्म र ढिलोमा पुस १३ गतेसम्म तोकिएको छ। पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि थप गर्न सकिनेछ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि मंसिर २४ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाले आवेदन फारामबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। उनीहरूले अनलाइन माध्यमबाट मेरो सेयरमार्फत पनि आवेदन दिन पाउनेछन्।
आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीको वित्तीय प्रक्षेपणअनुसार साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष र डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। त्यस्तै, कम्पनीको खुद वर्तमान मूल्य (एनपीभी) १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ र आन्तरिक प्रतिफल दर (आईआरआर) २४.२७ प्रतिशत रहेको विवरणमा उल्लेख छ।
स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी पहिलो चरणमा आईपीओ निष्कासन गरेको कम्पनीले आगामी चरणमा सर्वसाधारणका लागि समेत सेयर जारी गर्नेछ।








