काठमाडौं, २९ भाद्र २०७७
सरकारले कोरोनाको पीसीआर परीक्षण मूल्य घटाएर २ हजार रुपैयाँ बनाए पनि निजी अस्पताल तथा प्रयोगशालाले यो नियम मान्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र बुझाएका छन्।
प्रयोगशालाहरुले आज मन्त्रालयका सचिव लक्ष्मण अर्यालललाई भेटी आफूहरुले २ हजारमा कोरोनाको पीसीआर परीक्षण गर्न नसक्ने भन्दै पत्र बुझाएका हुन्। काठमाडौंमा रहेका सबै निजी अस्पताल तथा प्रयोगशालाका प्रतिनिधी गएर यो निर्णय फिर्ता लिन आग्रह गरे ।
उनीहरुले परीक्षणका लागि चाहिने किट, पीपीई लगायतका अन्य सामग्रीको लागत मूल्य नै २ हजार भन्दा बढी पर्न आउने भएकाले पीसीआर परीक्षण अहिलेको अवस्थामा २ हजार रुपैयाँमा गर्न असम्भव भएको बताएका छन्। ।
निजी अस्पताल तथा प्रयोगशालाले शुरुका दिनदेखि सरकारलाई सहयोग गर्दै आएको भए पनि अहिले आएर सरकारले निजी अस्पताल तथा प्रयोगशालालाई डुबाउने गरी कुनै सल्लाह नै नगरी २ हजार रुपैयाँमा परीक्षण गर भन्नु न्यायपूर्ण नभएको उनीहरुको भनाई छ । उनीहरुले सरकारले पहिलोपटक ५ ,५०० रुपैयाँबाट घटाएर ४ हजार ४ सय बनाउँदा आफूहरु केही नबोलेको भए पनि अहिले लागत खर्च नै नउठ्ने भएपछि बाध्य भएर मन्त्रालय आउन परेको उनीहरुको भनाई थियो ।
उनीहरुले स्वास्थ्य सचिव अर्याल समक्ष पीसीआर परीक्षणको शुल्क ४ ,४०० रुपैयाँ नै कायम राख्न अनुरोध गरेका छन्।
स्वास्थ्य मन्त्रालयले भदौ २८ गतेदेखि लागू हुने गरी सबै अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न /गराउन निर्णय गरेको थियो ।
सरकारले कोरोना महामारी शुरु भएके धेरै समयसम्म निजी अस्पताल तथा प्रयोगशालालाई शुरुमा कोरोना परीक्षणको अनुमति नै दिएको थिएन । पछि सरकारी अस्पताल तथा प्रयोगशालाले मात्र परीक्षण गरेर नभ्याउने भएपछि बाध्य भएर निजीलाई पनि अनुमति दिएको थियो । सरकारी प्रक्रिया झन्झटिलो हुने र रिपोर्ट पनि ढिला आउने कारणले यतिबेला धेरैको रोजाइमा निजी प्रयोगशाला नै पर्ने गरेका छन्।