फिजियोथेरापी दिवस २०२६ को अवसरमा नेपाल फिजियोथेरापी संघ (NEPTA) ले आज काठमाडौंमा रक्तदान कार्यक्रम तथा स्ट्रोक र मुटुसम्बन्धी रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।
यस वर्षको विश्व फिजियोथेरापी दिवसको मुख्य विषय “Stroke and Cardiovascular Disease” (स्ट्रोक तथा मुटु तथा रक्तनलीसम्बन्धी रोग) रहेको छ। सोही विषयलाई केन्द्रमा राख्दै नेपाल फिजियोथेरापी संघले फिजियोथेरापीको भूमिका, स्ट्रोक तथा हृदयसम्बन्धी रोगको रोकथाम, पुनर्स्थापना तथा जनचेतना अभिवृद्धिमा जोड दिएको हो।
कार्यक्रम अन्तर्गत पहिलो चरणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। उक्त रक्तदान कार्यक्रम Everest Hospital Blood Bank को सहकार्यमा तथा Krystal Party Venue को स्थान सहयोगमा सम्पन्न भएको थियो। कार्यक्रममा करिब ६८ जना रक्तदाताले रक्तदान गरेका थिए। संकलित रक्त आवश्यकताअनुसार बिरामी तथा आपत्कालीन अवस्थामा रहेका व्यक्तिहरूका साथै बाढीपीडित तथा अन्य विपद्का समयमा आवश्यक पर्ने बिरामीको उपचारमा समेत उपयोग गर्न सकिने जनाइएको छ।
रक्तदान कार्यक्रमपछि स्ट्रोक तथा मुटु तथा रक्तनलीसम्बन्धी रोगसम्बन्धी जनचेतनामूलक अन्तरक्रियात्मक सत्र आयोजना गरिएको थियो। कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरूले रोगको जोखिम, रोकथाम, प्रारम्भिक पहिचान, उपचार तथा पुनर्स्थापनामा फिजियोथेरापीको भूमिकाबारे जानकारी दिएका थिए।
कार्यक्रममा प्रोफेसर कार्डियोलोजिष्ट डा. सञ्जय कुमार श्रेष्ठ, न्यूरोलोजिष्ट डा. अविनाश चन्द्र, न्यूरो फिजियोथेरापिस्ट साज श्रेष्ठ तथा दीपिका प्रजापति, कार्डियोरेस्पिरेटरी फिजियोथेरापिस्टले स्रोत व्यक्तिका रूपमा प्रस्तुति तथा सहजीकरण गरेका थिए।
कार्यक्रमका अध्यक्षता नेपाल फिजियोथेरापी संघका अध्यक्ष समिद कतिला श्रेष्ठले गर्नु भएको थियो भने , प्रमुख अतिथि नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष श्री सगुन पौडेल रहनुभएको थियो।
कार्यक्रममा श्री बसन्त श्रेष्ठ, अध्यक्ष, प्यारामेडिक एसोसिएसन नेपाल, प्रकाश महत्वो, विभागीय प्रमुख, फिजियोथेरापी विभाग, काठमाडौं मेडिकल कलेज तथा नोवेल कलेजका सुजित झा विभागिय प्रमुख फिजियोथेरापी विभागीय प्रमुख, लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। साथै डा. सुरज भुषाल, अध्यक्ष, फिजियोथेरीपी रिह्याविलिटेसन सेन्टर को समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा देशका विभिन्न फिजियोथेरापी शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा कार्यरत १५० भन्दा बढी फिजियोथेरापी विद्यार्थी, फिजियोथेरापिस्ट तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले स्ट्रोक तथा हृदयसम्बन्धी रोगको बढ्दो जोखिमका बीच समयमै पहिचान, जीवनशैलीमा सुधार, नियमित शारीरिक गतिविधि तथा बहुविषयगत पुनर्स्थापना सेवाको महत्त्वमा जोड दिएका थिए। विशेषगरी स्ट्रोक तथा मुटुसम्बन्धी रोगबाट प्रभावित व्यक्तिहरूको कार्यक्षमता पुनःस्थापना तथा जीवनको गुणस्तर सुधार गर्न फिजियोथेरापीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको थियो।
नेपाल फिजियोथेरापी संघले विश्व फिजियोथेरापी दिवसलाई केवल पेशागत दिवसका रूपमा नभई समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा मनाउँदै आएको जनाएको छ।
रक्तदान तथा जनचेतनामूलक कार्यक्रमको सफल आयोजनाले फिजियोथेरापी पेशाको स्वास्थ्य क्षेत्रमा रहेको योगदानसँगै सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको संघले जनाएको छ।
नेपाल फिजियोथेरापी संघका अनुसार यस वर्षको कार्यक्रम रक्तदान र स्वास्थ्य जनचेतना अभियानलाई एकैसाथ अघि बढाउँदै सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले फिजियोथेरापी विद्यार्थी, चिकित्सक, फिजियोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीबीच सहकार्य र ज्ञान आदानप्रदानलाई समेत थप बल दिएको छ।






