काठमाडौं , १५ श्रावण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लकडाउन अघिका आठ दिनको तुलनामा लकडाउन खुलेपछिको आठ दिनमा कोरोना सङ्क्रमण धेरै नबढेको बताएको छ ।
लकडाउन खुल्न अघिका आठ दिनमा ३४ हजार चार सय ५७ जनाको पीसीआर परीक्षण गरिएकोमा त्यसको तीन दशमलव शून्य चार प्रतिशत अर्थात् एक हजार ४९ जनामा कोरोना पुष्टि भएको थियो ।
लकडाउन खुलेपछिका आठ दिनमा ३४ हजार एक सय नाै जनाको पीसीआर परीक्षण गरिएकाेमा त्यसको तीन दशमलव सात प्रतिशत अर्थात् एक हजार दुई सय ७९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नेपालमा पछिल्लो २४ घण्टामा दुई सय १० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार दुई सय ७३ पुगेको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा एक सय ४६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको कुल सङ्ख्या १४ हजार २१ जना पुगेको छ ।