नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौंले सरकारी अस्पतालहरूमा मेडिकल प्रतिनिधिमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन घोषणा गरेको छ। संघले स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको “अस्पताल सुधार कार्यविधि” लाई एकपक्षीय, अव्यवहारिक तथा पेशागत अधिकारविपरीत निर्णय भन्दै तत्काल खारेजीको माग गरेको छ।
संघका अनुसार सिभिल अस्पताल, शाहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, वीर अस्पताल, शिक्षण अस्पताल, प्रहरी अस्पताल, सैनिक अस्पताल तथा APF अस्पतालमा लागू गरिएको व्यवस्थाले मेडिकल प्रतिनिधिहरूको पेशागत स्वतन्त्रता र काम गर्ने वातावरणमाथि प्रत्यक्ष हस्तक्षेप गरेको छ।
पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको भन्दै NMSRA काठमाडौंले आन्दोलनको पहिलो चरणअन्तर्गत सरकारी अस्पतालहरूमा सञ्चालन गदै आएका Continuing Medical Education (CME) कार्यक्रमहरूमा दिँदै आएको सम्पूर्ण सहयोग अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ।
संघले सम्पूर्ण स्वदेशी तथा विदेशी औषधि उद्योग, मेडिकल प्रतिनिधि तथा सरोकारवालालाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ। साथै माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी समेत दिएको छ।
संघका अध्यक्ष कोष राज अवस्थीले मेडिकल प्रतिनिधिको सम्मान, पेशागत अधिकार तथा सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।






