सुर्खेत, २३ माघ २०७९
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण शुरु गरिएको छ ।
शनिबार गरिएको पहिलो मिर्गौला प्रत्यारोपण सफल भएको अस्पतालले जानकारी गराएको छ । आईतबार पत्रकार सम्मेलन गरेर मिर्गौला प्रत्यारोपण बारे जानकारी गराइएको थियो ।
नवलपरासीका २२ बर्षीय युवक कर्णाली प्रदेशमा दिइएको यो सेवा लिने पहिलो व्यक्ति बनेका छन् । बर्दघाट नगरपालिका–४ का ती युवकलाई ४३ बर्षीया आमाले आफ्नो मिर्गौला दिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
‘सबै कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा गरेपछि पहिलो मिर्गौला प्रत्यारोपण गरिएको हो,’ डा. खड्काले भने । कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शल्यक्रिया गर्ने टोली गएको थियो ।
टोलीमा प्रत्यारोपण केन्द्रका शल्यचिकित्सक डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. रस्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने र रेडियोलाजिष्ट डा. समीर दवाडी थिए ।
प्रत्यारोपणमा प्रदेश अस्पतालका निर्देशक डा. खड्काको नेतृत्वमा शल्यचिकित्सक डा. गणेश थापा, डा. बिकास खड्का, एनेस्थेसियोलोजिष्ट डा. पुजन बल्ल, डा. जेनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही र अपरेशन थ्रिएटर ईन्चार्ज प्रभा रावल लगायतको टोली सहभागी भएको थियो । मिर्गौला प्रत्यारोपण गरिएका बिरामी पाँच दिन पछि डिस्चार्ज हुने डा. खड्काले बताउनु भएको छ।
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले अस्पतालको कुशल पूर्वाधार र प्रशासनिक व्यवस्थापनले पहिलोपटक मिर्गौला प्रत्यारोपण सफल भएको बताए । उनले भने,‘ अब पश्चिम क्षेत्रको प्रत्यारोपणको माग कर्णाली प्रदेश अस्पताले पूरा गर्नेगरी लाग्नुपर्ने हुन्छ ।’