काठमाडौं, ७ असार २०८०
राजधानीका कारागारहरुमा रहेका कैदी बन्दीहरुको स्वास्थ्यमा विशेष ध्यान दिदै विशेषज्ञ स्वास्थ्य शिविर तथा स्क्रिनिङ हेल्थ क्याम्पको आयोजना गरिएको छ ।
गत २९ जेठ देखि सुरु भएको शिविरमा अहिलेसम्म ४ हजार बढीले सेवा लिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले बताउनुभयो।
डा. बुढाथोकीका अनुसार महिला बन्दी सुधार गृहमा ५ सय भन्दा बढी, भद्र बन्दी सुधार गृहमा ६५८, केन्द्रीय सुधार गृह जगन्नाथ देवलमा १ हजार २०० र डिल्लीबजार सुधारगृहमा ७०० बढी कैदीवन्दीहरुले सेवा लिएका छन् । त्यसबाहेक सुधारगृहमा कार्यरत अरु कर्मचारी, प्रहरी तथा स्वास्थ्यकर्मी गरी कुल ४ हजार बढीले सेवा पाएका हुन् ।
डा. बुढाथोकीले शिविरमा प्रसुती गृहका महिला तथा स्त्रीरोग बिशेषज्ञहरु, मानसिक अस्पतालका मानसिक रोग बिशेषज्ञहरु, राष्ट्रिय ट्रमा सेन्टरका हाड जोर्नी बिशेषज्ञहरु, वीर अस्पतालका छातीरोग बिशेषज्ञहरु, ईन्र्टनीष्ट, ईन्डोक्राईनोलोजिष्टहरु, छालारोग बिशेषज्ञहरु तथा केन्द्रीय कारागार अस्पतालका बिशेषज्ञ, चिकित्सक, ल्याब, नर्सिङ र स्वास्थ्यकर्मीहरु गरी ३ दर्जन बढीले सेवा प्रदान दिएका थिए।
त्यस्तैगरी केन्द्रिय कारागार अस्पताल, स्वास्थ्य सेवा समाज र प्रीजन फाउन्डेसनको प्राविधिक सहयोगमा क्षयरोग, एचआईभी एड्स, रक्तचाप, सुगर लगायत भाईटलसहरुको स्क्रिनिङ गरिएको थियो। यसबाट लुकेर बसेका समस्याहरु समेत पहिचान भएको र उपचारको दायरामा ल्याईएको हो।