कंचनपुर , १३ फाल्गुन २०७७
महाकाली अस्पतालका विशेषज्ञ चिकित्सकको टिमले बेलौरी नगरपालिका कंचनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा हाईड्रोसिल प्रभावित व्यक्तिहरुको पहिचानका लागि निशुल्क स्क्रिनिंग क्याम्प संचालन गरिएको छ ।
फाल्गुन १२ र १३ गते दुइ दिन सम्म संचालन हुने उक्त स्क्रिनिंग क्याम्पमा कंचनपुर जिल्लाका दक्षिणी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई लाभ पुग्ने गरि कार्यक्रम तय गरिएको कुरा प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका प्रमुख गोबिन्द बिष्टले जानकारी दिनु भएको छ ।
शिविरको पहिलो दिन कुल ९६ जनाले सेवा लिएको र सेवा लिएका मध्ये ३२ जना व्यक्तिहरु हाईड्रोसिलबाट प्रभावित पाईएका छन् । निशुल्क शिविर फाल्गुन आज १३ गते पनि संचालन हुने कुरा कार्यक्रममा आर्थिक सहयोग उपलब्ध गराउने UKAID/ASCEND का प्रदेश संयोजक सन्जीब शाहीले जानकारी दिनु भएको छ ।
नेपाल सरकारको सन् २०२८ सम्ममा हात्तीपाईले रोग निवारण गरि सक्ने लक्ष्य हाशिल गर्नका लागि रोगको दर घटाउन आम औषधि सेवन अभियान संचालन गर्ने र रोग प्रभावित व्यक्तिहरुको ब्यबस्थापन गर्ने मुख्य दुइ वटा रणनीति तय गरेको छ । जस मध्ये रोग व्यबस्थापनको मुख्य पाटो हाईड्रोसिलको शल्यकृया हो र नेपाल सरकारले हाईड्रोसिल प्रभावित व्यक्तिहरु को निशुल्क शल्यक्रिया गर्ने कार्यक्रम संचालन गर्दै आएको छ ।