डोटी, २९ माघ २०७८
नेपाली कांग्रेसका युवा नेता दिर्घ बलायरले जिल्लाका १४ वटा स्वास्थ्य संस्थाहरुमा सेनिटाइजर डिस्पेन्सर वितरण गरेका छन् ।
शिखर नगरपालिका अन्तरगतका १३ वटा स्वास्थ्य चौकी र सुजङ्ग अस्पताललाई एउटा गरी १४ वटा हातले छुन नपर्ने सेन्सर युक्त (टच लेस) सेनिटाइजर डिस्पेन्सर वितरण गरिएको हो ।
कोरोना माहमारी नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी संक्रमणबाट जोगिउन् र उपचारका क्रममा विरामीहरुलाई संक्रमण नसरोस् भन्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको उनले बताए । सिताराम तेज स्मृति प्रतिष्ठानका अध्यक्ष, बानेश्वर क्याम्पसका पूर्व एकाई अध्यक्ष समेत रहेका बलायर नेपाली कांग्रेसको डोटी काठमाण्डौं सम्पर्क समितिका सभापति हुन् । उनले उक्त स्वास्थ्य सामग्री सिताराम तेज स्मृति प्रतिष्ठान मार्फत वितरण गरेका हुन् ।
यूएसभि प्रालिका मेनेजर रमेश ढाँटको सहयोगमा वितरण गरिएका उक्त सेनिटाइजर डिस्पेन्सर अध्यक्ष बलायरले प्रत्यक स्वास्थ्य संस्थामा पुगरे वितरण गरेका हुन् । कोरोनाको तेस्रो भेरिएण्ट ओमिक्रोनको संक्रमण फैलिएसँगै उनले उक्त साम्रग्री वितरण गरेका हुन् ।
सामग्री वितरणसँगै शिखर नगरपालिकाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने मुख्य उद्देश्य रहेको बलायरले बताए । शिखर नगरपालिकाका सबै वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा पुगेर सेनिटाइजर डिस्पेन्सर वितरण गरेको छु । बलायरले शिखर समाचासँग कुरा गर्दै भने मुख्य उद्देश्य भनेको नगरको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिने हो ।खालीहात जानु भन्दा केही लगेर जाउँ भनेर सेनिटाइजर डिस्पेन्सर वितरण गरेको हुँ, स्वास्थ्य अवस्था बारे जानकारी लिएसँगै निकट भविष्यमा नगरमा आवश्यकता अनुसारको स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष लिएको छु ।
नेता बलायरले यस अघि विद्यालयमा पुस्तकालय स्थापना, प्रत्येक वर्ष विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, पाठेघर, डेन्टल सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन तथा काठमाण्डौंमा अफ्ठेरोमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् ।
बलायरले वितरण गरेका सेनिटाइजर डिस्पेन्सरले कोरोना महामारी मात्र नभई अन्य समयमा पनि स्वास्थ्य संस्थालाई काम लाग्ने शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताउनुभयो । सेनेटाइजरले बिभिन्न खालका किटाणुहरु नास गर्ने भएकाले यसको प्रयोग स्वास्थ्य संस्थाहरुमा बढी हुने बताउँदै शाहले धन्यवाद ज्ञापन गरे ।
सामुदायीक अस्पतालमा पनि बलायरले सेनिटाइजर डिस्पेन्सर उपलब्ध गराएकोमा सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले धन्यबाद ज्ञापन गरे । उपलब्ध गराएको सेनिटाइजर डिस्पेन्सर हेर्दा स्यानो मसिन भए पनि अस्पतालका लागि अनिवार्य रहेकाले धेरै काम लाग्ने उनले बताए ।
त्यस्तै नेपाली कांग्रेसको पार्टी कार्यालयलाई पनि एउटा सेनिटाइजर डिस्पेन्सर र पाँच लिटर सेनिटाइजर उपलब्ध गराईएको छ । सबै स्वास्थ्य संस्थाहरुमा वितरण गरिसके पछि पार्टी कार्यालयमा पनि सेनिटाइजर डिस्पेन्सर जडान गरिएको हो । पार्टी सभापति नरेन्द्र बहादुर सिंहले स्वास्थ्य संस्था तथा पार्टीलाई सेनिटाइजर डिस्पेन्सर उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे ।