काठमाडौं, ७ जेठ २०७८
नेपाल चिकित्सक संघले आजबाट कोभिड–१९ होम आइसोलेशनमा बसेका बिरामीका लागि ११५६ बाट निशुल्क परामर्श सेवा दिने भएको हो।
अमेरीका नेपाल मेडिकल फाउन्डेसन, नेपाल चिकित्सक संघ, जुनियर डाक्टर नेटवर्क र ॐ आदी फाउण्डेशनको संयुक्त आयोजनामा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा , नेपाल टेलिकम ,नर्डिक नेपाल मेडिकल सोसाइटीको सहकार्य एवं कलस सर्भिस प्रालीको प्राविधिक सहयोगमा कल सेन्टरको स्थापना गरिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए।
डा. कार्कीका अनुसार कोरोना पोजेटिभ देखिएर आत्तिएर हत्तपत्त अस्पताल जानुपर्ने अवस्थालाई तोड्नका लागि नेपाल चिकित्सक संघले यो अभियान सुरु गरेको हो। कोरोना महासंग्राममा यो अभियान एक महत्त्वपूर्ण र अत्यन्तै सहयोगी हुने बताए।
बिरामीका लागि कल सेन्टर बाट मनोसामाजिक परामर्श काउन्सिल दिइने र टेलिमेडिसिन पनि उपलब्ध गराइने र क्वारेन्टाइनमा रहेकाहरुको लागि खाना, तालिम , मास्क वितरण पनि गर्दै आइरहेका डा. कार्कीले जानकारी दिए।
नेपालमा कोरोना महामारीको दोस्रो लहर आएसँगै अहिले १ लाखभन्दा बढी संक्रमित होम आइसोलेसनमा रहेका छन्।
यस्तो अवस्थामा विभिन्न विधाका चिकित्सक सोसाइटीका २ सयभन्दा बढी विशेषज्ञ चिकित्सक सदस्यमार्फत् आवश्यक स्वास्थ्य परामर्श दिने व्यवस्था गरिएको अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बहादुर बस्नेतले जानकारी दिए।
डा. बस्नेतका अनुसार संक्रमितले आफूलाई परेको समस्या भनेपछि सेन्टरमा बस्ने स्वास्थ्यकर्मी एवं प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य परामर्श सेवा प्रदान गरिनेछ। कोरोना महासंग्राममा यो अभियान एक महत्त्वपूर्ण र अत्यन्तै सहयोगी हुने बताए ।
जुनियर्स डक्टर्स कमिटीका केन्द्रीय सदस्य डा. रविन बस्नेतले निःशुल्क स्वास्थ्य परामर्शको लागि डाक्टरसँग सिधा ११५६ मा फोन गरेर निःशुल्क सेवा लिन सकिने प्रत्येक बिहान ७ देखि ८ बजे सम्म परामर्श दिइने बताउनु भयो।
डा. बस्नेतका अनुसार अझै विशेषज्ञ अनुसारको सेवा चाहिनेहरुलाई नेपाल चिकित्सक संघले कल फरवार्ड गरेर विशेषज्ञ डाक्टरसँग बिरामीले सिधा परामर्श गर्ने व्यवस्था समेत गरेको छ । डेक्समा सुरुवाती चरणमा ४ जना डाक्टरहरु रहनेछन् । एकपटकमा ३० जनासम्मलाई परामर्श दिन सकिन्छ ।
Comments 4