काठमाडौं, १४ असार २०७९
सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा बरिष्ठ आयुर्वेद कन्सल्टेन्ट बिज्ञ डा. श्यामबाबु यादव नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत ११ असारको मन्त्रीस्तरीय निर्णयबाट डा. यादव नियुक्त भएका हुन् ।
डा. यादव यसअघि टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा हुनुहुन्थ्यो । वैद्यखानाका निमित्त निर्देशक रहेका डा. सबरी साहलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग जानु भएको छ ।
नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने पुरानो र एक मात्र सरकारी निकाय हो, सिंहदरबार वैद्यखाना। यो वैद्यखाना आफैँमा एक इतिहास र महत्व बोकेको संस्था पनि हो।
राजा प्रताप मल्लको पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको रुपमा यसको स्थापना भएको थियो। २०५२ सालबाट सिंहदरबार वैद्यखाना विकास समितिको रुपमा यो सञ्चालित छ।
सरकारकै स्वामित्वमा रहेको भएपनि वैद्यखानाको विकास हुनु त परेको कुरा झनै दयनीय बन्दै गएको छ। सरकारी बेवास्ताका कारण कमजोर बन्दै गएको वैद्यखानाको व्यवस्थापनसँग पनि कर्मचारीहरुको चरम असन्तुष्टि रहेको छ।
व्यवस्थापनसँग रुष्ट बनेका कर्मचारीहरुले आन्दोलन समेत गरेका थिए। तर सरकारको ध्यान उनीहरुको माग संवोधन गर्ने र सुधार तर्फ जान सकेको छैन। न त यसको व्यवस्थापनलाई सबल बनाउन नै सरकारले केही कदम चालेको छ।
डा. यादव राष्ट्रिय आयुर्वेद चिकित्सक संघका अध्यक्ष तथा आयुर्वेद अनुसन्धान परिषदका पुर्व निर्देशक र नरदेवी आयुर्वेद चिकित्सालयका पुर्व निर्देशक हुन्।