काठमाडौं, ३० असोज २०७९
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्रा.डा. राजीव झालाई बेलायतको द रोयल कलेज अफ सर्जन्स अफ इडिनवर्गबाट विश्व प्रसिद्ध शल्यचिकित्सकलाई प्रदान गरिने ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स ’ उपाधि प्रदान गरिएको छ ।
स्कटल्याण्डमा असोज २८ गते आयोजित विशेष समारोहमा वरिष्ठ न्युरो सर्जन डा. झाले उक्त उपाधि ग्रहण गरेका हुन ।
नेपालमा बसेर न्युरो सर्जरीमा उत्कृष्ठ सेवा, पेसाप्रतिको समर्पण र नेतृत्वदायी भूमिका निभाएकोले डा. झालाई ‘ फेलो अफ रोयल कलेज अफ सर्जन्स ’ उपाधि प्रदान गरिएको द रोयल कलेज अफ सर्जन्स अफ इडिनवर्गले जनाएको छ । नेपालमा यो उपाधि डा. झा भन्दा पहिले वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाले प्राप्त गरेका थिए । डा. झाले न्युरो सर्जन भएपछि मात्र करिव १२ हजार विरामीको सर्जरी गरेका छन् ।
डा. झा गत महिना राष्ट्रपतिबाट सुप्रवल जनसेवा श्री पदकबाट बिभुषित भएका थिए भने त्यसको केही हप्ता अगाडि मात्र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९ बाट सम्मानित गरेको थियो ।