मोरङ, २१ पुस २०८२
विराटनगरमा रहेको विराट नर्सिङ्ग होमले आफ्नो स्वास्थ्य सेवालाई थप विस्तार गर्दै अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालनमा ल्याएको छ ।
आइतबार कार्डियाक, न्यूरो तथा भास्कुलर इन्टरभेन्स्नल सम्बन्धी जटिल रोगहरूको उपचारलाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ शनिबार उद्घाटन भए पनि एक कार्यक्रममाबीच औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो।
नयाँ सेवाको शुभारम्भ गर्दै इनभोलुसन हेल्थकेयर प्रालिका निर्देशक अतुल शर्माले हृदयाघात तथा स्ट्रोक जस्ता आपतकालीन अवस्थामा समयमै उपचार नपाउँदा ज्यान जाने जोखिम उच्च हुने भएकाले सोही जोखिम न्यूनीकरण गर्न अत्याधुनिक प्रविधि ल्याइएको बताउनुभयो। “यो सेवाले विराटनगरसहित नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकलाई एडभान्स उपचारका लागि सहज हुनेछ,” शर्माले भन्नुभयो ।
कोशी र मधेश प्रदेशमै पहिलो पटक एउटै छानामुनि कार्डियाक, न्यूरो र इन्टरभेन्स्नल रेडियोलोजी गरी तीनै वटा विशेषज्ञ सेवा उपलब्ध गराएको विराट नर्सिङ्ग होमले दाबी गरेको छ । हस्पिटलका अनुसार यहाँ जडान गरिएको ‘प्रिमियर एलिट क्याथ ल्याब’ अत्याधुनिक प्रविधिमा आधारित छ, जसले कम विकिरणका साथ छिटो र सुरक्षित रूपमा उपचार प्रक्रिया पूरा गर्दछ ।
नेपाल तथा भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा तालिम प्राप्त वरिष्ठ इन्टरभेन्स्नल विशेषज्ञहरूबाट यहाँ २४ सै घण्टा सेवा उपलब्ध हुने अस्पतालका सिइओ डा. निकिता कार्कीले बताउनुभयो। हस्पिटलको आकस्मिक सेवामा एमडीजीपी चिकित्सक, दक्ष क्रिटिकल केयर टिम, सर्टिफाइड नर्स र १५ शैयाको एडभान्स सीसीयू सहितको सुविधा रहेको छ । मुटुरोग तथा अन्य आपतकालीन लक्षण देखिएमा ढिलाइ नगरी तुरुन्त स्वास्थ्य जाँच गराउन समेत हस्पिटलले आग्रह गरेको छ ।
क्याथ ल्याब उद्घाटनको अवसरमा हस्पिटलले विशेष सहुलियतको घोषणा गरेको थियो । प्राथमिकताका आधारमा पहिलो आउने २० जना बिरामीलाई क्याथ ल्याबअन्तर्गतका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराउने घोषणा गरिएकोमा १९ जनाले बिरामीहरुले सो सुविधा लिनुभएको हस्पिटल प्रशासनले जनाएको छ । साथै, सीसीयू शुल्क तथा निदान सेवामा समेत ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यस्तो सेवाले पूर्वी क्षेत्रका बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यता कम हुनेका साथै छिमेकी राष्ट्रका बिरामीहरुलाई उपचारको लागि सहज हुनेछ।














