काठमाडौं, ०३ वैशाख २०७९
वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गरेको छ। दुवाकोटमा ल्याब सेवा सुरु भएपछि त्यस क्षेत्रका नागरिलाई स्वास्थ्य सेवा पाउन सजिलो र सहज हुने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले परीक्षण सेवा उद्घाटन गरेका हुन्।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले ल्याब र एक्सरे सेवा सुरु भएपछि लामो समयपछि सपनाको केही अंश पूरा हुन लागेको भन्दै खुसि व्यक्त गरेका छन्। मिश्रको दुई वर्ष अगाडिको सपना भर्खरै पूरा भएको उनको भनाई छ। जनताको चाहना अनुसार ल्याब सुरु भएको भन्दै उनले अब फार्मेसी पनि विस्तार गर्नुपर्ने बताए। ठिमी, कागेश्वरी र चागुनारायण बासिन्दालाई लक्षित गरेर सेवा संचालन गरिएको हो।
मन्त्रालयका सचिव डा. पोखरेलले बाचा गरे अनुसार काम सम्पन्न भएको बताए। उनले तत्काल ल्याब र एक्सरे सेवा सुरु गरेकाे भन्दै हप्तामा २ देखि ३ दिन विशेषज्ञ सेवा संचालन गर्ने जानकारी दिए। उनले फार्मेसीको बारेमा मन्त्रालयले सोचिरहेको पनि बताए।
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले यस बिचमा कामले गति लिन नसके पनि अब तिव्रताका साथ कान अघि बढ्ने बताए। प्याथोलोजीका साथै अल्ट्रासाउन्ड सेवा पनि तत्काल सुरु गर्ने उनको भनाई छ। अस्पतालले ल्याव, प्रयोगशालामा चिकित्सक सहित ६ जना स्वास्थ्यकर्मी खटाइएको छ।