भक्तपुर, १२ भाद्र २०८१
भक्तपुर क्यान्सर अस्पतालमा कोवाल्को रेडियोथेरापी, मोडुलर अप्रेशन थिएटर तथा २५६ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन सेवा स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा उद्घाटन गरिएको छ।
रेडियोथेरापी मेसिन भारत सरकारको सहयोगमा जडान गरिएको हो भने मोडुलर ओ.टी तथा सीटी स्क्यान मेसिन नेपाल सरकारको लगानिमा जडान गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरु तत्पर रहनुपर्न बताए।
विशिष्टकृत सेवा सुविधा सरलीकृत ढंगबाट प्राप्त गर्न नसकिरहेको बताउँदै उहाँले विशिष्टीकृत सेवा सरलीकृत ढंगबाट सहज माध्यमबाट प्राप्त गर्ने माध्यम स्वास्थ्य बीमा भएको बताए।
मन्त्री पौडेलले बीमाको स्रोत सुनिश्चित गर्न आवश्यक भएको भन्दै स्वास्थ्य उपचारकै कारण लाखौं जनता गरिबीको रेखामुखि पुगेको हुँदा नसर्ने रोगहरुबारे नागरिकलाई रोग नलाग्ने उपाय र चेतना जगाउन आवश्यक भएको कुरामा जोड दिए।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा अस्पताल विकास समिति, कर्मचारी, डाक्टर, नर्सको योगदान महत्वपूर्ण हुने बताए।
भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सल्लाघारीमा ख्वप विश्वविद्यालय स्थापना गरी देश विदेशका विद्यार्थीहरुलाई सर्वसुलभ ढंगले उच्च शिक्षा अध्ययन गर्ने व्यवस्थाको योजना रहेको उनले जानकारी समेत दिए।
उनले भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एउटै बनाएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने विषयमा यसअघि पनि छलफल भइसकेको प्रसंग जोड्दै उहाँले दक्ष चिकित्सक र दक्ष जनशक्ति तयार गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठापन सञ्चालन गर्नु आवश्यक भएको बताए।
त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा सुविधायुक्त स्वास्थ्य उपकरणहरु थप भएसँगै क्यान्सर पीडित जनतालाई स्वास्थ्य सेवा पाउन सहज भएको बताउँदै नेपाल सरकारले क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गराउन पहल गर्नुपर्नेमा जोड दिए।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले बिरामीको लागि उपचारमा सहज गराउन अस्पतालका कर्मचारीहरुले महत्त्वपूर्ण योगदान पुर्याइरहनु भएको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापा र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव पनि बोलेका थिए।