काठमाडौं , ७ असार
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या भदौं पहिला सातासम्म ३९ हजार पुग्नसक्ने अनुमान गरेको छ । त्यति बेलासम्म नेपालमा पनि कोरोना महामारीको रुपमा फैलिने मन्त्रालयको अनुमान छ ।
संक्रमितको आंकलन गरेर अहिले मन्त्रालय स्वास्थ्य सामाग्री र अस्पतालहरुको व्यवस्थापन गर्न लागिएको मन्त्रालयले जानकारी गराएको छ ।
साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमण उच्च विन्दुमा पुग्नसक्ने सरकारको विश्लेषण छ ।
अहिलेको अवस्थामा संक्रमित पहिचान भएका अधिकांश क्वारेन्टिनमा छन् । तर पछिल्लो समय क्वारेन्टिन स्थलहरु नै कोरोना सार्ने अखडा बन्न थालेको र त्यहाँ भएकाहरुलाई आरडीटी गरेर घर पठाउँदा संक्रमण समुदायमा पुग्नसक्ने खतरा कायमै छ ।
साथै ट्राभल हिस्टी नभएकाहरुमा पनि संक्रमण देखिन थालेको छ । साथै कतिपयमा मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण पुष्टि भएका छन् । त्यसैले कोरोना संक्रमणले कस्तो रुप लिन्छ अनुमान गर्न गाह्रो भएको जनस्वास्थ्यविज्ञहरु बताउँछन् ।
समुदाय स्तरमा संक्रमण देखियो भने परीक्षणसँगै कन्ट्याक ट्रेसिङ महत्वपूर्ण हुन्छ ।
यसका लागि ३ हजार २२५ जनाको टोली बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले यसैलाई आधार मानेर कार्यविधि पनि बनाएको छ । परीक्षणको दायरा बढाइएसँगै संक्रमितको संख्या पनि बढी हुने मन्त्रालयले अनुमान गरेको छ ।