बैतडी बैशाख ०८
बैशाख ३ गते देखि आइसोलेसनमा भर्ना भएका बैतडीका तीन जनालाई आइतबार डिस्चार्ज गरिएको छ। कोरोनाको शङ्कास्पद भनी जिल्ला अस्पतालको आइसोलेसन भर्ना भएका सुर्नया गाउँपालिका–३ का एकै परिवारका उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको हो। आइसोलेसनमा भर्ना भएका सबैको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु सबैलाई डिस्चार्ज गरिएको जिल्ला अस्पताल निमित्त मेसू डा.बसन्त राज जोशीले जानकारी दिए।
तीन जनालाई शङ्कास्पद मानेर आइसोलेसनमा भर्ना गरेर उनीहरु सबैको थ्रोट स्वाब वैशाख ३ मा परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो। सुर्नया–३ की २३ वर्षीया युवतीलाई ज्वरो, रुघोखोकी, स्वासप्रस्वासमा समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको थियो। युवती अस्पताल पु¥याउन आएका उनका बुबा र भाइलाई पनि आइसोलेसनमा राखिएको हो। युवतीको यसअघि बैतडीमै र्यापिड डाइग्नोस्टिक टेस्ट भने नेगेटिभ आएको थियो।
यसअघि गएको चैतमा कोरोनाको शङ्कास्पद एक प्रहरीसहित तीनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको भए पनि तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा.जोशीले बताए।