✍️प्रा.डा. गणेश दंगाल
स्त्री तथा प्रसूति रोग विशेषज्ञ
काठमाडौं मोडेल अस्पताल
नेपालमा कोभिड-१९ को संक्रमणबाट पहिलो मृत्यु एक सुत्केरी महिलाको धुलिखेल अस्पतालमा भएको थियो। त्यसैले गर्भवती महिला तथा सुत्केरी महिलाले अझ बढी सतर्कता अपनाउनु पर्दछ।
तर कैयौ गर्भवती महिलाहरु यसको संक्रमणबाट सजिलै मुक्त भएको पनि छन् साथै कयौं गर्भवती महिला शल्यक्रिया मार्फत पनि मातृत्व हासिल गर्न सफल भएका छन्।
कोभिड-१९ एउटा नयाँ भाइरसले गर्दा हुने रोग हो। जुन हाल संसारमै महामारीको रुपमा फैलिएको छ र अझै केही वर्ष चलिरहने छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुने तर धेरैलाई आफू संक्रमित भएको थाहा पनि नभइ निको हुने पनि देखिएको छ । कोरोना संक्रमण हुनासाथ मरिँदैन र ९५ प्रतिशतमा साधारण उपचारबाट ठीक हुन्छ । केहीलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ । तीनदेखि पाँच प्रतिशतलाई जटिलता आउँछ वा सघन उपचार (आइसियु) सेवा दिनुपर्ने हुन सक्छ ।
कोरोना भाइरसले निम्त्याउने मृत्यु दर निकै कम छ । एकदेखि तीन प्रतिशतभन्दा कममा मृत्यु भएको देखिएको छ । निश्चित औषधि र भ्याक्सिन उपलब्ध नहुँदा कोरोना नियन्त्रणमा कठिनाइ थपिँदै गएको छ । नेपालमा पनि पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्दै गएका छन् । समुदायस्तरमा संक्रमितको संख्या बढ्दै जाने र लक्षणसहितका संक्रमित देखिन थालेकाले व्यवस्थापन पनि जोखिमपूर्ण बनेको छ ।
समान्यतया गर्भवती महिलालाई अन्य स्वस्थ मानिसभन्दा ज्यादा बढी समस्या नहुने देखिएको छ तर गर्भावस्थामा कोभिड भएमा महिलालाई बढी गाह्रो हुन सक्छ- शारीरिक अवस्था एवं हर्मोन, शरिरको प्रतिरोधात्मक क्षमता -इम्युनिटी वा भाइरससँगै लडन सक्ने क्षमतामा समस्या आदिका कारणले ।
कोभिडको कारणले गर्भपतन भएको पाइएको छैन तर उच्च ज्वरो वा न्युमोनिया आदि भएमा खतरा हुन्छ। यसैगरी आमाबाट रगत वा डेलिभरी हुँदा बच्चामा कोभिड सरेको पाइएको छैन। तर स्वासप्रश्वास वा खोकी वा हाच्छियुँ आदि बाट भने काखे बच्चालाई कोभिड सर्न सक्छ।
गर्भवती महिलाले के गर्ने के नगर्ने?
– भीडभाडमा नजानुहोस् र कोरोना भइसकेका बिरामीबाट टाढा रहनुहोस्। गर्भवती महिलाले घरमा अलग्गै कोठा र शौचालय प्रयोग गर्न सक्नुहुन्छ।
– कसैसँग हात नमिलाउनुहोस।
– अंकमाल नगर्नुहोस्।
– साबुन पानीले कम्तीमा २० सेकेन्ड हात मिचि मिचि धुनुहोस् वा अल्कोहल भएको ह्याणड स्यानिटाइजरले बारम्बार हात सफा गर्नुहोस्।
– खोक्दा वा हाच्छिउँ गर्दा हातले वा कपडाले नाकमुख छोप्नुहोस्। वा पेपर टावल, नेप्किनले मुख नाक छोप्नुहोस्, तुरुन्त साबुनपानीले हात धुनुहोस्।
– मास्कको प्रयोग गर्नुहोस्। धेरै प्रयोग भइरहेको ठाउँलाई नियमित रूपमा सफा राख्नुहोस्।
– डर र भ्रमका कारण घरमै घरमै सुत्केरी नहुनुहोस । प्रसुतीको लागि स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
– कोरोनाका लक्षणहरु जस्तै रुघाखोकी लागेमा, ज्वरो वा सास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थाहरुमा सम्पर्क राख्नुहोस्।
-संक्रमण हुन नदिन उच्च सतर्कता कायम गर्नुपर्छ र संक्रमण भइहाले चिकित्सकको सल्लाह वा सम्पर्क राख्नुहोस्।
– नजिकको अस्पताल जानुपर्छ। त्यसका लागि एम्बुलेन्सको समेत जानकारी राख्न जरूरी हुन्छ। कसरी अस्पताल लैजाने, कुन अस्पताल लैजाने भनेर पहिले नै सल्लाह गरेको हुनपर्छ।
-बिरामीलाई काउन्सिलिङ गर्ने, परिवार सचेत हुनुपर्छ तर अत्तालिनु हुन्न। बिरामीको मनोबल बढाउनु पर्छ।
-संक्रमण भइहाले खानपिनको हकमा प्रशस्त मात्रामा तरल पदार्थ र पोषिलो खाना खानुपर्छ।
– सुत्केरी/गर्भवतीलाई यदि कोभिड भएमा बच्चालाई दूध चुसाउन-खुवाउन मिल्छ, दूध निचोरेर पनि खुवाउन सकिन्छ।
– बिरामीको आत्मबल- मनोबल उच्च राख्न औषधिसँगै खानपान र व्यायाम, ध्यान- भजन र नरम संगीत सुनाउने, प्रणायाम र मेडिटेसन आदि गर्नुपर्छ।
हाल अस्पतालमा अन्य स्वास्थ्य सेवा लिनु भन्दा अगाडि कोरोनाको पिसिआर टेस्ट/ स्क्रिनिङ टेस्ट गरिन्छ । जस्तै, कुनै शल्यक्रिया गर्नु भन्दा अगाडि, अस्पतालमा भर्ना गर्न अगाडि स्क्रिनिङ टेस्ट गरिन्छ । तर पिसिआर टेस्ट ‘स्वाब दिएकाहरु निष्फिक्री घुम्ने कुरा जोखिमपूर्ण बनेको छ ।
अन्तमा कोरोना संक्रमणबाट बच्न बारम्बार साबुनपानीले मिचीमिची हात धुने, नाक, मुख र आँखामा हात नलैजाने, खोक्दा वा हाच्छिउँ गर्दा सावधानी अपनाउने, स्यानिटाइजर र मास्क प्रयोग गर्ने, सामाजिक दूरी पालना गर्ने- दुई मिटरको दूरी कायम गर्ने जस्ता उपाय अवलम्बन गरिरहनु पर्छ ।
✍️ लेखक काठमाडौँ मोडेल अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, चिकित्सक तथा नेपाल स्वास्थ्य अनुसन्धान परीषदको जर्नलमा प्रमुख सम्पादक छन् ।
Comments 2