डा . सुजित श्रेष्ठ
डिप्रेसनलाई जनवोलीमा तनाव भनौं, या मानसिक चिन्ता वा टेन्सन, मेडिकल साइन्सले डिप्रेसनलाई “मुड डिस्अडर (Mood Disorder) भनिन्छ जसले निरन्तर निराश बनाइरहन्छ र इच्छाशक्तिको कमि गराउँछ ।” ब्रेनमा भएको एक प्रकारको केमिकल (निउरोट्रान्समिटर)को कमिले हुने यो रोगले अहिलेको अवस्थामा कोरोना जतिकै महामारीको रुप लिएको छ । लकडाउन यता धेरैमा मानसिक समस्याहरु बढिरहेका छन्, या भनौं डिप्रेसन बढिरहेको छ । डिप्रेसनको बारेमा हामीले पत्रपत्रिका, रेडियो–टिभीमा धेरै पढेका छौँ , हेरेका छौँ तर पनि दिन–दिनै जसो डिप्रेसनको सिकारले आत्महत्याका खबरहरु हामी सुनिरहन्छौं र “जाबो टेन्सनले पनि किन मर्नु परेको होला कठै, टेन्सन कसलाई पो हुन्न र” भन्दै टिभीको च्यानाल परिवर्तन गर्ने वा अरु कुनै विषयको छलफल तिर लागछौँ । तर वास्तवमा भन्ने हो भने यो एकदमै बिकराल समस्या हो जुन हामी त्यति महत्व राख्दैनौं या सोझो हिसावले भनौं यसको बारेमा राम्ररी बुझेका नै छैनौँ ।
विश्व स्वास्थ्य संगठनको अनुसार संसारमा डिप्रेसनको कारणले प्रत्येक २० सेकेंडमा १ जनाले आत्महत्या गरेको तथ्यांक छ । नेपालको कुरा गर्ने हो भने सन् २०१८ को तथ्यांक अनुसार प्रत्येक दिनमा १५ जना ले आत्महत्या गर्छन् जुन लकडाउन यता त्यसको संख्यामा झन् वृद्धि भएको छ । लकडाउनमा मात्र अहिलेसम्म १६०० जनाभन्दा आत्महत्या गरिसकेका छन् र ति मध्ये धेरैको कारण भनेको डिप्रेसन हो ।
“पुरुषभन्दा महिला बढि शिकार हुने यस डिप्रेसन रोगका “रोजगारी गुम्नु, व्यवसायमा कमी आउनु, लेखाइ–पढाइमा कमी आउनु , गरिबी, ऋणको चपेटामा पर्नु, आत्मियजनको मृत्यु, प्रेम सम्बन्धमा बिछोड हुनु , लगातार घरेलु हिंसामा पर्नु, यौन दुव्र्यवहार, आफूले चाहे जस्तो जीवनशैली नहुने र अहिलेको माहोलमा लकडाउन सिनड्रम (कोरोनको त्रास, नकारात्मक समाचारको प्रभाव, लेखाइ–पढाइ, व्यवसाय, रोजगार तथा शारीरिक गतिविधिमा कमी आउनाले सामाजिक र आर्थिक असुरक्षाको महसुस हुनु) जस्ता थुप्रै तत्वहरु कारक हुन् ।”
लक्षणहरू:
• लगातार निराशापन हुनु
• अतिरिक्त क्रियाकलापमा इच्छा–शक्तिको आभाव हुनु
• निद्रा नलाग्नु वा अत्याधिक निद्रा लाग्नु
• तौलमा कमी आउनु या अझै बढ्नु
• अनौठा व्यवहार देखाउनु
• हिनताबोध वा पश्चाताप लाग्नु
• ज्यादा थकान महसुस हुनु
• एक्लै बस्ने, टोलाउने , परिवार वा साथीभाईसंग घुलमील नहुनु
• आत्महत्याको विचार आउनु
बच्चा र किशोर–किशोरीहरुमा देखिने लक्षणहरुः
• दुखी हुनु
• चिड–चिड हुनु
• नकारात्मक सोच आउनु र बेकम्मा भएको महसुस हुनु
• धेरै रिसाउने
• पढाइ र अतिरिक्त क्रियाकलापमा खराब प्रदर्शन
• गलतफेहमीमा भएको महसुस गर्ने र अत्यन्त संवेदनशील हुने
• मादक पदार्थ वा मदिराको प्रयोग गर्ने
• खाने वा धेरै सुतिरहने
• आफ्नै हानी गर्ने
• सामान्य गतिविधिहरूमा चासोको कमी हुदै जाने
• सामाजिक गतिविधिहरूको बेवास्ता
समाधानः
• औषधी सेवन गर्नुपर्ने अवस्थामा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्ने
• जॉंड–रक्सी र लागुपदार्थको सेवन नगर्ने
• सन्तुलित एवं पौष्टिक खाना खाने
• आफ्नो समस्या एवं चिन्ताहरु साथी–भाई र परिवारसंग व्यक्त गर्ने
• नियमित योगा, व्यायम र मेडिटेसन
परिवार र साथी–भाईको भूमिकाः
• कसैलाई डिप्रेसनको लक्षण देखिएमा उपचारको लागि प्रोत्साहन गर्ने
• यस्ता व्यक्तिहरुसंग समय बिताउने, गफ गर्ने र हौसला प्रधान गर्ने
• जॉंड–रक्सी र लागुपदार्थको सेवन गर्नबाट निरुत्साहित गर्ने
• उनीहरुको बोलीचाली र व्यवहारमा परिवर्तन आएमा उनिहरुसंग समस्याको बारेमा छलफल गर्ने र चिकित्सकसंग परामर्श गर्ने
डिप्रेसन जस्ता मानसिक रोगलाई समाजले हेर्ने गलत नजरियाको कारण बिरामीले समयमा उपचार नपाइ अकालमा ज्यान गुमाउनु परेको छ । डिप्रेसन रोगबारे खुलेर कुरा गरौं र आफ्नो मनमा कुण्ठित समस्याहरु खुलेर आफ्नो परिवार, साथी–भाई, इस्टमित्र र चिकित्सकसंग व्यक्त गरौँ । “मर्नलाई एउटा कारण होला तर बाँच्नलाइ कारण धेरै छन् ।”
Thank u sujit for good information & best of luck ajai ramro garnu
Good suggestions