टाउको दुखाइका धेरै कारणहरु हुन्छन तर त्यसमध्ये एक मुख्य कारण माइग्रेन पनि हो । माइग्रेनको दुखाइ निकै नै कडा खाले हुन्छ। जसकारण दैनिक क्रियाकलाप गर्न समेत गार्हो पर्न जान्छ । माइग्रेनको टाउको दुखाइ टाउकाको एकापट्टिको भागमा च्वास्स–च्वास्स घोचेजस्तो वा भारी भएजस्तो हुने गर्दछ र साथसाथै वाकवाकी लाग्ने अथवा बान्ता हुने, प्रकाश र चर्को आवाजले झन गार्हो पार्ने जस्ता लक्षणहरु पनि देखिन सक्दछन ।
तर टाउको दुख्दा मात्रै माइग्रेन भएको बुझिन्छ भन्ने चाहिँ होईन ।
माइग्रेनका विभिन्न प्रकारहरु हुन्छन र त्यसैअनुसार लक्षणहरु देखिने गर्दछन । कहिलेकाहीँ धेरैबेर सम्म रिंगटा लाग्ने, पेट दुख्ने, चम्की आउने, हातखुट्टा कमजोर हुने जस्ता लक्षणहरु पनि माइग्रेनकै हुनसक्दछन ।
माइग्रेनको समस्या व्यक्ति-व्यक्ति बिच पनि फरक हुने गर्दछ । कुनै बिरामीलाई महिनामा एकचोटी मात्रै हुने र दैनिक क्रियाकलाप गर्नमा धेरै बाधा नपर्ने हुन्छ भने कुनै बिरामीमा सधै जसो अथवा हप्तैपिछे टाउको दुख्ने र दैनिक कामकाज पनि गर्न नसक्ने हुनसक्दछ । माइग्रेनको दुखाइ ३-४ दिनसम्म पनि रहिरहन सक्छ । कतिपय बिरामीलाई माइग्रेनको पुर्वसंकेत पनि मिल्ने गर्दछ जसलाई मेडिकल भाषामा औरा भनिन्छ, जसमा आँखालाइ असहज हुने, धमिलो देखिने जस्ता लक्षणहरु देखिने गर्दछन ।
विभिन्न अध्ययन-अनुसन्धानहरुले देखाए अनुसार माइग्रेन पुरुषभन्दा महिलामा बढी हुनेगरेको पाइएको छ, जसमध्ये महिनावारी हुँदा हर्मोनको परिवर्तन र गर्भनिरोधक औषधिहरुको प्रयोग गर्नुलाई कारक तत्वका रुपमा लिन सकिन्छ ।
माइग्रेनको जोखिम बढीहुने कारणहरु यस प्रकार छन:
- क्याफिन युक्त कुराहरु जस्तै चिया, कफि, कालो चकलेटको बढी प्रयोग,
- लामो समयसम्म भोको पेट बस्ने, व्रत बस्ने बानी,
- थोरै अथवा धेरै सुत्ने बानी,
- धेरै मानसिक तनाव लिने व्यक्ति
माइग्रेनको निदान :
कुनैपनि बिरामीलाई माइग्रेन भए-नभएको भन्ने कुरा चिकित्सकले बिरामीको लक्षणका आधारमा नै पत्ता लगाउने गर्दछन । तसर्थ माइग्रेन हो भन्नका लागि कुनै पनि जाँचहरु गरिरहनु आवश्यक पर्दैन तर टाउको दुखाइको कारण माइग्रेन भन्दा अरु नै केहो हो भन्ने शंका लागेमा अरु जाँचहरु गर्नुपर्ने पनि हुन्छ ।
माइग्रेनको उपचार :
माइग्रेन उपचार गर्न सकिने रोग हो । स्वस्थ्य जिवनशैली, स्वस्थ्यकर खाना र आवस्यकता अनुसारका औषधिको प्रयोगले यो रोगको उपचार गर्न सकिन्छ। माइग्रेन हुनै नदिन त केही गर्न सकिँदैन तर यसलाइ कम गर्न भने सकिन्छ। यसको उपचारका लागि फिजिसियन अथवा न्युरोलोजिस्टको सल्लाह लिनु पर्दछ ।
डाक्टरको उपचार वा सल्लाह लिन आउनु अघि बिरामी स्वयंले एउटा डायरी बनाउन उपयुक्त हुन्छ। जसमा महिनाको कुन-कुन दिन टाउको दुख्यो, कति समयसम्म दुख्यो, टाउको दुखेको दिन पछिल्लो २४ घन्टामा के-के खानेकुरा खाएको थियो जस्ता कुराहरु लेखेर राख्न सकिन्छ जसले गर्दा रोग पत्ता लगाउन र यसको उपचार गर्नमा धेरै सजिलो हुने गर्दछ । उपचारका क्रममा लामो समयसम्म औषधिको प्रयोग गर्नुपर्ने पनि हुनसक्छ ।
रोग अनुसारको खाना ब्यबस्थापन; के खाने के नखाने #healthyhabits #food
माइग्रेनका बिरामीले खान नहुने कुराहरु :
- माइग्रेनका बिरामीले आफ्नो डायरिमा टिपे अनुसार आफूलाई जे खाँदा टाउको दुख्छ, त्यो कुरा खानु भएन,
- क्याफिन पाइने कुराहरू जस्तै चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खानुपर्छ,
- धेरै नुनिलो कुराहरु जस्तै अचार, चाउचाउ, कुरकुरे, चाउमिन आदि सकेसम्म नखाने,
- अमिलो खानेकुराहरु जस्तै कागती, दहि नखाने,
- रक्सी र रक्सिजन्य पदार्थहरु नखाने, आइसकृम नखाने,
- बजारमा पाइने क्याफिनयुक्त प्यारासिटामोलको प्रयोग नगर्ने
माइग्रेनका बिरामिले अपनाउनु पर्ने कुराहरु :
- मानसिक तनाव नलिने वा कम गर्ने विधि अपनाउने,
- अनिदो नबस्ने, एउटै समयमा सुत्ने बानी बसाउने,
- धेरै भोको नबस्ने, बेलाबेलामा थोरै थोरै खानेकुरा खाइरहने,
- प्रशस्त पानी पिउने,
- नियमित कम्तिमा दिनको ३० मिनट जति शारिरिक ब्यायाम गर्ने,
- धेरै चिसो वा धेरै गर्मीमा नजाने,
- हरियो सागसब्जिहरु प्रसस्त खाने,
- टाउको दुख्दा सामान्य प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ तर चिकित्सकको सल्लाह बिना कुनै पनि अरु औषधिको प्रयोग नगर्ने
माइग्रेन भनेको सामान्य रोग हो, यसले केही फरक पर्दैन भनेर उपचार नगरी बस्नु हुदैन । कतिपय अवस्थामा बारम्बार भैरहने र धेरै दुखाइ सहन नसकेर आत्महत्याको प्रयास गर्ने गरेको पनि पाइएको र माइग्रेनका बिरामिमा मुटु सम्बन्धी समस्याहरु बढी हुनेगरेको पनि पाइएको छ ।
✍️ डा. लोकेन्द्र अवस्थी, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान