✍️ अन्जित थिङ तामाङ
चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी र कति घण्टासम्म काम गर्छ, कस्तो प्रभावकारी (Side Effects) पार्न सक्छ आदि परामर्श सेवा दिई औषधी दिनु हुन्छ ।
बिरामीको रोग निदान पश्चात् उपचार गर्नको लागी चाहिने औषधिको विकासक्रम, अन्वेषण, अनुसन्धान गर्ने काम औषधी कम्पनीमा कार्यरत वैज्ञानिक जो फर्मकोलोजीको विज्ञको रूपमा चिकित्सक, फार्मसिष्टहरुले फर्मुलेसन तयारी भइसके पछि कम्पनीले उत्पादन गरी हरेक अस्पतालको फार्मेसी देखि लिएर पोलिक्लिनिक, क्लिनिक तथा सामुदायिक फार्मेसी सम्म पुर्याउने गर्दछन् । औषधीहरु बहु-राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कम्पनीहरूले उत्पादित गर्ने गर्दछन् ।
बिरामीको उपचार तथा व्यक्तिको स्वस्थ जिबन-यापन देखि जीवन बचाउनको लागि औषधि कम्पनीले उत्पादन गरिएका औषधीहरु हरेक देशको दर्ता गर्ने निकाय जस्तै औषधि व्यवस्था विभागमा दर्ता गरी उक्त औषधिको सहज उपलब्धता, विकासक्रम, अन्वेषण र विभिन्न क्लिनिकल ट्रायलहरुको बारेमा चिकित्सक तथा फार्मसिष्टहरुलाई सूचना तथा जानकारी दिने कार्यमा मुख्य भूमिका निभाउने व्यक्ति नै Medical Representative (MR) हाे । आफ्ना प्रोडक्टहरुलाई मार्केटिङ, ब्रान्डिङ् र बिक्री तथा औषधिको Molecules को बारेमा समय सापेक्ष अनुसन्धान र विकासको बारेमा जनकारी बाँड्दै बिरामीको जीवन बचाउने कार्यमा सहयोग गर्नु पनि हो । अर्थात् चिकित्सक, स्वस्थ्यकर्मी र औषधी कम्पनीको बीचको मुख्य कोशेढुङ्गाको भुमिकामा MR रहेका हुन्छन्
एकछिन चिकित्सा पद्धतिको बारेमा पनि थोरै चर्चा गरौँ । प्राचीन कालदेखि वर्तमान उत्तर-आधुनिक समयसम्म चिकित्सा पद्धतिको विकासक्रमलाई हेर्ने हो भने प्राचीन काल (Ancient Period) मा जडीबुटी र दर्शनले चिकित्सालाई धर्म, दर्शन र प्रकृतिसँग जोडेर हेरिन्थ्यो। मेसोपोटामिया र इजिप्ट (३००० ई.पू.) कालमा इमहोटेप जस्ता पहिलो चिकित्सकहरूले जडीबुटी र जादुमयी उपचारको समिश्रण प्रयोग गर्थे ।
आयुर्वेद (१५०० ई.पू. – ५०० ई.पू.)मा आइपुग्दा नेपाल र भारतको क्षेत्रमा चरक र सुश्रुतले व्यवस्थित चिकित्सा र शल्यक्रियाको विकास गरे। सुश्रुतले त्यतिबेलै प्लास्टिक सर्जरी र मोतियाविन्दुको शल्यक्रिया गरेका थिए। ग्रीक सभ्यता (४६० ई.पू.) मा आइपुग्दा हिपोक्रेट्सले रोगलाई अन्धविश्वासबाट अलग गरी वैज्ञानिक अवलोकन (Clinical Observation) को सुरुवात गरेको कुरा विभिन्न अनुसन्धानले देखाउँदछ ।
मध्यकाल (Middle Ages) मा अनुवाद र अस्पतालको विकास भई इस्लामिक गोल्डेन एज (८औं देखि १३औं शताब्दी) तिर (Avicenna) ले ‘द क्यानन अफ मेडिसिन’ नामक पुस्तक लेखे, जुन युरोपमा सयौं वर्षसम्म पाठ्यपुस्तक बन्यो। त्यसपछि बगदाद र कायरोमा व्यवस्थित अस्पतालहरू (Bimaristan) निर्माण गरिए जहाँ बिरामीको हेरचाह र औषधि वितरण हुन्थ्यो।
पुनर्जागरण र आधुनिक कालको सुरुवात (Renaissance to 19th Century) मा शरीर विज्ञान (Anatomy) को वास्तविक ज्ञान सुरु भयो। एनाटोमी मा एन्ड्रियास भेसालियसले मानव शरीरको चिराफार गरी वास्तविक संरचना पत्ता लगाए। त्यसैगरी सूक्ष्मजीव विज्ञान (Germ Theory) मा लुइस पास्चर र रोबर्ट कोचले रोगहरू कीटाणुका कारण लाग्छन् भन्ने प्रमाणित गरे। यसले सरसफाइ र खोपको महत्त्व बढायो। एनेस्थेसिया सम्बन्धी अध्ययनले १८४० को दशकमा शल्यक्रिया गर्दा बेहोस पार्ने पद्धतिको विकास भयो।
२०औं शताब्दीमा एन्टिबायोटिक्स र प्रविधिले चिकित्सा विज्ञानले ठूलो फड्को मार्यो। पेनिसिलिन (१९२८) विकास जहाँ अलेक्जेन्डर फ्लेमिङले पहिलो एन्टिबायोटिक पत्ता लगाए, जसले संक्रमणबाट हुने मृत्युदरलाई ह्वात्तै घटायो। अंग प्रत्यारोपण र डीएनए सबन्धी विकास जसले मुटु, मिर्गौला प्रत्यारोपण सुरु भयो र डीएनएको संरचना पत्ता लागेपछि आनुवंशिक चिकित्सा (Genetics) को बाटो खुल्यो। त्यसैगरी इमेजिङ सम्बन्धी विकास जुन X-ray बाट सुरु भएको यात्रा CT-scan र MRI सम्म पुग्यो।
अब अहिले उत्तर-आधुनिक समय (Post-Modern Era: २१औं शताब्दी र वर्तमान)मा प्रविधि र व्यक्तिगत उपचार (Personalized Medicine) मा केन्द्रित छ। न्यानो मेडिसिन र रोबोटिक सर्जरी: ससाना न्यानो कणहरूबाट शरीरभित्र उपचार गर्ने र रोबोटको सहायताले अत्यन्तै सूक्ष्म शल्यक्रिया (Precision Surgery) गर्ने काम भइरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (AI): रोगको निदान (Diagnosis) गर्न र नयाँ औषधि पत्ता लगाउन एआईको प्रयोग भइरहेको छ। टेलिमेडिसिन: इन्टरनेटको माध्यमबाट घरमै बसेर संसारभरका विशेषज्ञसँग परामर्श लिने सुविधा। जीन सम्पादन (CRISPR) जहाँ वंशानुगत रोगहरूलाई डीएनए तहमा पुगेर सच्याउने प्रयास गरिँदै छ ।
यसरी चिकित्सा पद्धतिको विकास सँगै उपचारमा अति आवश्यक पर्ने औषधि उत्पादनको इतिहास हजारौँ वर्ष पुरानो भए पनि आधुनिक Pharmaceutical Industry (फार्मास्युटिकल उद्योग) को वास्तविक सुरुवात १९औँ शताब्दीको मध्यतिरबाट भएको मानिन्छ। फार्मेसीबाट उद्योगतिर (१८०० – १८५०) प्रारम्भिक चरणको रूपमा मानिन्छ । सुरुमा औषधिहरू स्थानीय औषधि पसल (Apothecaries) मा जडीबुटी मिसाएर बनाइन्थ्यो। केही प्रसिद्ध कम्पनीहरू यही समयमा साना पसलका रूपमा स्थापना भएको पाइन्छ ।
Merck (१६६८) यो संसारकै सबैभन्दा पुरानो औषधि कम्पनी मानिन्छ, जुन जर्मनीमा एउटा सानो फार्मेसीबाट सुरु भएको थियो। बोटानिकल एक्स्ट्र्याक्टनको युग १८औँ शताब्दीको अन्त्यतिर अफीमबाट मर्फिन (Morphine) र सिन्कोनाबाट कुइनिन (Quinine) जस्ता रसायनहरू अलग गरेर व्यावसायिक रूपमा बेच्न थालियो । सन् १८५० – १९०० समयलाई आधुनिक उद्योगको उदयको रूपमा चित्रण गरिन्छ । यस कालखण्डमा रसायन विज्ञान (Chemistry) मा भएको प्रगतिले औषधि उत्पादनलाई ‘उद्योग’ को रूप दियो।
जर्मन र स्विस प्रभावले गर्दा रङ बनाउने उद्योगहरू (Dye industry) बाट आधुनिक औषधि कम्पनीहरू जन्मिए। उदाहरणका लागि, Bayer (१८६३) सुरुमा रङ बनाउँथ्यो, पछि १८९९ मा यसले ‘एस्पिरिन’ (Aspirin) को व्यावसायिक उत्पादन सुरु गरेको पाइन्छ। Pfizer (१८४९) अमेरिकामा स्थापना भएको यस कम्पनीले सुरुमा सान्टोनिन (Santonin) जस्ता रसायनहरू उत्पादन गर्थ्यो। Eli Lilly (१८७६): गुणस्तरीय औषधि उत्पादन गर्ने उद्देश्यले अमेरिकामा यसको स्थापना भएको पाईन्छ ।
सन् १९०० – १९५० एन्टिबायोटिक र स्वर्ण युगको रुपमा पाइन्छ । दुईवटा विश्वयुद्धले औषधिको माग ह्वात्तै बढायो, जसले ठूला कम्पनीहरूलाई अनुसन्धानमा लगानी गर्न प्रेरित गर्यो। इन्सुलिन (१९२३): एली लिली (Eli Lilly) ले व्यावसायिक रूपमा इन्सुलिनको उत्पादन सुरु गर्यो। पेनिसिलिन (१९४० को दशक) दोस्रो विश्वयुद्धको समयमा घाउ निको पार्न एन्टिबायोटिकको व्यापक उत्पादन भयो। यसले औषधि कम्पनीहरूलाई ‘Mass Production’ (ठूलो मात्रामा उत्पादन) गर्ने क्षमता प्रदान गरेको पाइन्छ ।
सन् १९६० पछि औषधिमा नियमन र अनुसन्धानको युगको रूपमा विकास भएको पाईन्छ । थालिडोमाइड (Thalidomide) जस्ता औषधिको नकारात्मक असर देखिएपछि औषधिको गुणस्तर र परीक्षणका लागि कडा कानुनहरू (जस्तै: FDA का नियमहरू) बने। यसले गर्दा औषधि कम्पनीहरूले ‘R&D’ (अनुसन्धान र विकास) मा अर्बौँ डलर खर्च गर्न थालेको पनि पाईन्छ ।
हाल उत्तर-आधुनिक र बायो-टेक्नोलोजी युग (२००० देखि हालसम्म) मा आइपुग्दा अहिलेको समयमा औषधि कम्पनीहरू केवल रसायनमा मात्र सीमित नभई बायोटेक कम्पनीहरू: जस्तै Genentech र Moderna जसले जीन थेरापी र mRNA खोपहरूमा काम गरिरहेका छन्। मल्टिनेशनल कर्पोरेसन (MNCs): साना कम्पनीहरू गाभिएर ठूला जायन्टहरू (जस्तै: Novartis, Roche, GSK) बनेका छन्, जसको पहुँच विश्वभर छ।
नेपालको सन्दर्भमा भने २०२९ सालमा शाही औषधि लिमिटेड (हाल नेपाल औषधि लिमिटेड) को स्थापना भएपछि व्यवस्थित औषधि उत्पादनको इतिहास सुरु भएको मानिन्छ। अहिले नेपालमा झन्डै १०० को हाराहारीमा निजी औषधि उत्पादन उद्योगहरू सञ्चालनमा छन्।
चिकित्सा विज्ञान र औषधिमा विज्ञानको प्राचीनकल देखि उत्तर आधुनिक युगसम्म आइपुग्दा जसरी विकासक्रम तीव्र हुँदै छन् यस समयमा के मेडिकल रिप्रिजेन्टेटिभ (Medical Representative – MR) आवश्यक छैन र भन्ने प्रश्न उठ्न थालेको छ ? के MR बिना पनि उपचार पद्धतिमा औषधी सहजै उपलब्ध हुन्छन् ? यी विषयमा विस्तृत चर्चा गरौँ ।
मेडिकल रिप्रिजेन्टेटिभ (Medical Representative – MR) को भूमिकाको इतिहास औषधि उद्योगको व्यावसायिकरणसँगै जोडिएको छ। सुरुवात र प्रारम्भिक स्वरूप १९औँ शताब्दीको अन्त्य तिर भएको पाइन्छ । औषधि कम्पनीहरूले ठूलो मात्रामा औषधि उत्पादन गर्न थालेपछि, ती औषधिबारे डाक्टरहरूलाई जानकारी गराउनु आवश्यक भयो। सुरुमा कम्पनीका मालिक वा वरिष्ठ कर्मचारीहरू आफैँ डाक्टरकहाँ जाने गर्दथे। १८८० को दशकमा अमेरिका र युरोपमा “Detailing” को अवधारणा सुरु भयो। त्यतिबेला ‘Traveling Salesmen’ भनिने व्यक्तिहरूले औषधि पसल र डाक्टरहरूलाई नयाँ औषधिबारे जानकारी दिने काम गर्थे।
सन् १९०० – १९५० तिर औषधी कम्पनी हरुले व्यावसायिक विकास थालेपनि २०औँ शताब्दीको सुरुतिर यो एउटा सम्मानित पेशाको रूपमा स्थापित हुन थाल्यो। औषधिहरू जटिल बन्दै गएपछि (जस्तै: इन्सुलिन र एन्टिबायोटिक्स), सामान्य सेल्सम्यानले भन्दा पनि विज्ञान बुझेका व्यक्तिले मात्र औषधिबारे बुझाउन सक्ने महसुस गरियो।यसै समयमा ‘Detailmen’ भन्ने शब्द प्रयोगमा आयो, जसको काम औषधिको ‘Details’ वा वैज्ञानिक पक्ष बुझाउनु हुन्थ्यो।
सन् १९५० – १९९० स्वर्ण युग र वैज्ञानिक विस्तार को रुपमा औषधी कम्पनी विकास हुन थाले पछि एम.आर. को भूमिका पूर्ण रूपमा व्यावसायिक बन्न सुरु भयो । औषधि कम्पनीहरूले MR पेशामा आबद्ध हुनको लागि शैक्षिक योग्यता विज्ञान (B.Sc.) वा फार्मेसी (B.Pharm) पढेका व्यक्तिहरूलाई मात्र एम.आर. को रूपमा भर्ना गर्न थाले। जसले एम.आर. केवल औषधीको बारेमा जानकारी दिने व्यक्ति मात्र नभएर डाक्टर र कम्पनीबीचको एउटा बलियो सम्बन्ध ‘ब्रिज’ (Bridge) को काम गरेको पाईन्छ । डाक्टरहरूलाई नयाँ मेडिकल जर्नल, क्लिनिकल रिसर्च र औषधिको ‘स्याम्पल’ पुर्याउने काम उनीहरूकै हुन्थ्यो।
उत्तर-आधुनिक समय (२१औँ शताब्दी र हालको अवस्था) मा आईपुग्दा सम्ममा अहिले एम.आर. को भूमिका परम्परागत बिक्रीबाट परिवर्तन भएर ‘Medical Sales Liaison’ वा ‘Territory Manager’ को रूपमा विकसित भएको छ। डिजिटल एम.आर. (e-Detailing) ट्याब्लेट वा आइप्याड (iPad) मार्फत एनिमेसन र डाटा देखाएर औषधिबारे ब्रिफिङ गर्ने चलन तीव्र रूपमा विकास भएको छ । बकोरोना महामारीपछि ‘भर्चुअल मिटिङ’ को चलन पनि निकै बढेको छ। नियमन र आचारसंहिताले अहिले उपहार वा अन्य प्रलोभनमा कडा प्रतिबन्ध लगाइएको छ। एम.आर. को भूमिका अब बढी ‘नैतिक’ र ‘तथ्यमा आधारित’ (Evidence-based) हुनुपर्ने दबाब छ ।
नेपाल जस्तो देशमा जहाँ डाक्टरहरूसँग नयाँ अनुसन्धान पढ्ने समय कम हुन्छ, त्यहाँ एम.आर. हरू सूचनाको एक महत्त्वपूर्ण स्रोतको रूपमा काम गरिरहेका छन्। कम्पनी आफैँ (आफ्ना प्रतिनिधिमार्फत) चिकित्सकहरूकहाँ पुग्छन्। औषधि विज्ञान र प्रविधिको विकाससँगै ‘मार्केटिङ’ को यो एउटा अनिवार्य र व्यवस्थित पाटो बनेको छ। कम्पनीहरू कसरी चिकित्सकहरूकहाँ पुग्छन् भन्ने प्रक्रियालाई निम्न बुँदाहरूमा बुझ्न सकिन्छ:
१. मेडिकल रिप्रिजेन्टेटिभ (MR): मार्फत कम्पनीको मुख्य कडी भनेकै एम.आर. हुन् । उनीहरूले निम्न तरिकाले काम गर्छन्:
क) डिटेलिङ (Detailing): एम.आर. ले चिकित्सकलाई भेटेर आफ्नो कम्पनीको नयाँ औषधिको कम्पोजिसन, त्यसको प्रभावकारिता (Efficacy), र हुन सक्ने साइड इफेक्टबारे वैज्ञानिक जानकारी दिन्छन्। उनीहरूले प्रायः ‘भिजुअल एड्स’ वा ट्याब्लेट/आइप्याडमा ग्राफ र डाटा देखाउँछन्।
ख) नमुना वितरण (Free Samples): चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्नुअघि त्यसको गुणस्तर जाँच्न वा गरिब बिरामीलाई निःशुल्क दिन सकून् भनेर कम्पनीले ‘फिजिसियन स्याम्पल’ (Physician Samples) उपलब्ध गराउँछन्।
ग) वैज्ञानिक गोष्ठी र सेमिनार (CME): अहिले साना तथा ठूला हरेक फार्मास्युटिकल कम्पनीहरूले चिकित्सकहरूका लागि Continuous Medical Education (CME) वा वैज्ञानिक सम्मेलनहरू आयोजना गर्छन्। यस्ता कार्यक्रममा नयाँ रोग र तिनको उपचार पद्धतिबारे छलफल हुन्छ। यसले चिकित्सकलाई अपडेट रहन मद्दत गर्छ भने कम्पनीलाई आफ्नो ब्राण्ड स्थापित गर्न सहयोग पुग्छ।
घ ) मेडिकल लिजन अफिसर (MSL): अत्यन्तै जटिल वा नयाँ प्रविधिका औषधिहरू (जस्तै: क्यान्सरको औषधि वा बायोटेक उत्पादन) का लागि कम्पनीले एम.आर. मात्र नभएर Medical Sales Liaison (MSL) पठाउँछन्। उनीहरू उच्च तहका विशेषज्ञ (प्रायः डाक्टर वा पी.एचडी. गरेका) हुन्छन् जसले चिकित्सकसँग केवल वैज्ञानिक र क्लिनिकल डाटामा मात्र छलफल गर्छन्।
ङ ) डिजिटल र भर्चुअल माध्यम: अहिलेको उत्तर-आधुनिक समयमा कम्पनीहरूले चिकित्सकहरूसँग जोडिन निम्न माध्यम पनि अपनाउँछन्:
(१) वेबिनार (Webinars): अनलाइनमार्फत नयाँ औषधि लन्च गर्ने वा रिसर्च सेयर गर्ने। (२) ई-मेल र मोबाइल एप्स: औषधिको डोज र उपलब्धताको जानकारी एप्स वा इमेलमार्फत सिधै चिकित्सकको मोबाइलमा पुर्याउने।
किन कम्पनीहरू चिकित्सकहरूकहाँ नै जान्छन् त ?
क) निर्णयकर्ता (Decision Maker): औषधि बिरामीले किन्ने भए पनि कुन ब्रान्डको र कुन कम्पोजिसनको औषधि प्रयोग गर्ने भन्ने निर्णय चिकित्सकले नै गर्छन्।
ख) विश्वास (Trust): चिकित्सकले औषधिको गुणस्तरमा विश्वास गरेपछि मात्र त्यो बजारमा सफल हुन्छ।
ग) प्रतिस्पर्धा: बजारमा एउटै कम्पोजिसनका धेरै ब्रान्ड हुने हुनाले आफ्नो ब्रान्डको विशेषता बुझाउन कम्पनीका प्रतिनिधि पुग्नु आवश्यक हुन्छ।
अहिलेको प्रविधिमैत्री र उत्तर-आधुनिक समयमा “के मेडिकल रिप्रिजेन्टेटिभ (MR) को आवश्यकता छैन त ?” भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। तर, वास्तविकता के छ भने एम.आर. को भूमिका परिवर्तन भएको छ, तर आवश्यकता भने अन्त्य भएको छैन।
यसलाई निम्न पक्षहरूबाट विश्लेषण गर्न सकिन्छ:
१. सूचनाको ‘मानवीय’ र ‘वैज्ञानिक’ पुल : इन्टरनेटमा सबै जानकारी उपलब्ध भए पनि व्यस्त चिकित्सकहरूका लागि सयौँ नयाँ औषधि, तिनको क्लिनिकल ट्रायल र डोजिङबारे आफैँ खोजेर पढ्ने समय निकै कम हुन्छ। एम.आर. ले ती जटिल जानकारीलाई संक्षिप्त र सान्दर्भिक रूपमा प्रस्तुत गर्छन्, जुन गुगल सर्चले मात्र सम्भव हुँदैन।
२. डिजिटल माध्यमको सीमा: इमेल वा एप्सबाट पठाइएका जानकारी कतिपय अवस्थामा ‘स्पाम’ बन्न सक्छन्। तर, एम.आर. ले चिकित्सकसँग गर्ने प्रत्यक्ष संवाद (Face-to-Face Interaction) ले एउटा व्यक्तिगत सम्बन्ध र विश्वास (Trust) पैदा गर्छ। चिकित्सा क्षेत्रमा ‘विश्वास’ सबैभन्दा महत्त्वपूर्ण पक्ष हो।
३. औषधिको उपलब्धता र फिडब्याक लुप: एम.आर. केवल जानकारी दिने व्यक्ति मात्र होइनन्। उनीहरूले बजारमा औषधिको मौज्दात (Stock) सुनिश्चित गर्दछन्। चिकित्सकले प्रयोग गरेका औषधिको ‘फिडब्याक’ (राम्रो वा नराम्रो असर) कम्पनीको अनुसन्धान टोली (R&D) सम्म पुर्याउदछन् । साथै औषधिको गुणस्तरमा केही समस्या आएमा तुरुन्त ‘कल ब्याक’ गर्ने प्रक्रियामा सघाउँछन्।
४. जटिल र ‘स्पेशलाइज्ड’ औषधिको वृद्धि: अहिले क्यान्सर (Oncology), मधुमेह (Diabetes), र मुटु सम्बन्धी रोगका लागि अत्यन्तै विशिष्ट (Specialized) औषधिहरू बनिरहेका छन्। यस्ता औषधिको प्रयोग विधि र भण्डारण (Cold Chain) बारे बुझाउन दक्ष एम.आर. को झन् बढी आवश्यकता पर्छ।
अबको एम.आर. कस्तो हुनुपर्छ त यसबारे पनि यहाँ चर्चा गरौँ । पुरानो शैलीको ‘सेल्सम्यान’ मात्र हुने हो भने अबको समयमा एम.आर. को आवश्यकता नहुन सक्छ। अबको एम.आर. लाई निम्न गुणहरू आवश्यक छन्: डिजिटल ज्ञान: आईप्याड, भिजुअल एड्स र अनलाइन डाटा प्रस्तुत गर्न सक्ने, वैज्ञानिक विशेषज्ञता: औषधिको मोलिक्युलर लेभलसम्मको ज्ञान राख्ने, नैतिकता (Ethics): केवल व्यापार मात्र नभई बिरामीको हित र चिकित्सा आचारसंहिता बुझ्ने, समय व्यवस्थापन: व्यस्त चिकित्सकको थोरै समयमा धेरै र सही जानकारी दिन सक्ने।
हामीले बुझ्नु नै पर्ने कुराे चाहिँ के हो भने जसरी एआई (AI) ले शिक्षकलाई विस्थापित गर्न सक्दैन, त्यसैगरी डिजिटल मार्केटिङले दक्ष एम.आर. लाई विस्थापित गर्न सक्दैन। भविष्यमा ‘धेरै संख्या’ मा भन्दा पनि ‘धेरै गुणस्तरीय’ (Quality & Technical) एम.आर. को आवश्यकता झन् बढ्ने देखिन्छ।
एम.आर को आवश्यकता र उनीहरूको महतत्वपूर्ण भूमिकाको विषयमा अब Covid-१९ को अवस्थालाई गहिरिएर अध्ययन गरी हेरौं । कोभिड-१९ को विश्वव्यापी संकटको समयमा स्वास्थ्य सेवा प्रणाली ठूलो दबाबमा थियो। यस्तो कठिन परिस्थितिमा मेडिकल रिप्रिजेन्टेटिभ (MR) हरूको भूमिका ‘सेल्स’ बाट परिवर्तन भएर ‘सपोर्ट सिस्टम’ वा ‘फ्रन्टलाइन कोअर्डिनेटर’ को रूपमा विकसित भएको थियो। उक्त समयमा भ्याक्सिन (खोप) को उपलब्धता र वितरणमा उनीहरूले खेलेका मुख्य भूमिकाहरू पनि केलाएर हेरौं । १. कोल्ड चेन व्यवस्थापन (Cold Chain Management), कोभिड-१९ का खोपहरू (जस्तै: फाइजर, मोडर्ना, वा एस्ट्राजेनेका) लाई निश्चित तापक्रममा राख्नुपर्ने चुनौती थियो। एम.आर. हरूले अस्पताल र खोप केन्द्रहरूमा फ्रिज र स्टोरको अवस्था अनुगमन गरे । खोप ढुवानी गर्दा तापक्रम बिग्रन नदिन प्राविधिक सहयोग र समन्वय गरे।
त्यसैगरि क्लिनिकल डाटा र जानकारीको प्रवाहमा खोप नयाँ भएकाले चिकित्सक र स्वास्थ्यकर्मीहरूमा यसको प्रभावकारिता र ‘साइड इफेक्ट’ बारे धेरै जिज्ञासा र डर थियो। एम.आर. हरूले भर्चुअल माध्यम (Zoom/WhatsApp) बाट खोपको पछिल्लो क्लिनिकल ट्रायल रिपोर्टहरू चिकित्सकहरूसम्म पुर्याए। कुन उमेर समूहलाई कुन खोप दिने र ‘बूस्टर डोज’ को महत्त्वबारे वैज्ञानिक जानकारी आदानप्रदान गरे । ‘लास्ट माइल’ डेलिभरीमा समन्वय लकडाउनका कारण यातायात ठप्प भएको बेला सरकारी र निजी क्षेत्रबीच समन्वय गरी खोपलाई दुर्गम क्षेत्रका स्वास्थ्य केन्द्रसम्म पुर्याउन एम.आर. हरूले नै लजिस्टिक एक्सपर्ट को रूपमा काम गरे। उनीहरूले कुन ठाउँमा खोपको मौज्दात सकिन लाग्यो र कहाँ थप्नुपर्छ भन्ने ‘रियल टाइम’ डाटा कम्पनी र सरकारलाई उपलब्ध गराए। चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा (PPE वितरण) का लागि खोप केन्द्रमा खटिएका चिकित्सकहरूलाई सुरक्षित राख्न धेरै औषधि कम्पनीहरूले एम.आर. मार्फत Mask, Sanitizer, र PPE Kits उपलब्ध गराएका थिए। यसले खोप अभियानलाई निर्बाध रूपमा अगाडि बढाउन मद्दत गर्यो। जनचेतना र भ्रम निवारण खोपबारे समाजमा फैलिएका अनेकौँ भ्रमहरू चिर्न एम.आर. हरूले चिकित्सकहरूलाई वैज्ञानिक तथ्य (Fact Sheets) र ब्रोसरहरू उपलब्ध गराए। यसले गर्दा डाक्टरहरूले बिरामीलाई खोप लगाउन ढुक्कसँग प्रोत्साहित गर्न सके।
कोभिडको समयमा एम.आर. को भूमिका केवल ‘औषधि बेच्ने’ मा सीमित रहेन। उनीहरू ‘Health Educators’ र ‘Supply Chain Heroes’ का रूपमा उभिए। यदि एम.आर. हरूले पर्दा पछाडि बसेर अस्पताल, फार्मेसी र कम्पनीबीचको यो समन्वय नगरेको भए, खोप र अत्यावश्यक औषधिको वितरण प्रणाली अझ बढी भद्रगोल हुन सक्थ्यो।”
अब हाम्रो देश नेपालमा MR को आवश्यकता छ वा छैन भन्ने विषयमा बुझौँ । नेपालको औषधि बजार र स्वास्थ्य सेवा प्रणालीमा मेडिकल रिप्रिजेन्टेटिभ (MR) को भूमिका केवल एक ‘सेल्सम्यान’ को मात्र नभएर एक ‘सूचना संवाहक’ र ‘प्राविधिक सहयोगी’ को रूपमा रहेको छ।
नेपालको भौगोलिक बनावट र सीमित स्वास्थ्य पूर्वाधारका बीच एम.आर. हरूले खेल्ने मुख्य भूमिकाहरूलमा वैज्ञानिक सूचनाको मुख्य स्रोत MR नै हो । नेपालका धेरै चिकित्सकहरू बिरामीको अत्यधिक चापका कारण नयाँ ‘मेडिकल जर्नल’ वा अनुसन्धानहरू पढ्न समय पाउँदैनन्। यस्तो अवस्थामा एम.आर. हरूले नयाँ औषधिको मोलिक्युलर फर्मुलेसन, त्यसको प्रभावकारिता र डोजबारे संक्षिप्त जानकारी दिन्छन्। अन्तर्राष्ट्रिय स्तरमा भएका नयाँ क्लिनिकल ट्रायलका नतिजाहरू चिकित्सकहरूसम्म पुर्याउँछन्। त्यस्तै गरी औषधि उपलब्धता र आपूर्ति शृङ्खला (Supply Chain) मा नेपालका कतिपय दुर्गम क्षेत्रमा औषधि पुर्याउनु चुनौतीपूर्ण हुन्छ। एम.आर. ले कुन फार्मेसीमा कुन औषधि सकिन लागेको छ र कुन नयाँ औषधिको माग छ भन्ने कुराको ‘रियल टाइम’ अनुगमन गर्छन्। स्टक सकिनुअघि नै ‘स्टकिस्ट’ र ‘रिटेलर’ सँग समन्वय गरी औषधिको अभाव हुन दिँदैनन्। अझ औषधिको गुणस्तर र सुरक्षा (Pharmacovigilance) का बिषयमा पनि औषधि प्रयोग गरिसकेपछि बिरामीमा देखिने कुनै पनि अपेक्षित वा अनपेक्षित असर (Side Effects) बारे चिकित्सकबाट जानकारी लिएर कम्पनीको ‘क्वालिटी कन्ट्रोल’ विभागसम्म पुर्याउने काम एम.आर. ले नै गर्छन्। यसले औषधिको सुरक्षा र प्रभावकारिता सुधार गर्न मद्दत पुग्छ। अहिले नेपाली बजारमा स्वदेशी औषधि उद्योग र विदेशी (विशेषगरी भारतीय र अन्य बहुराष्ट्रिय) कम्पनीहरूबीच कडा प्रतिस्पर्धा छ। स्वदेशी एम.आर. हरूले “नेपाली उत्पादनको प्रवर्द्धन” गर्दै आत्मनिर्भरताको दिशामा टेवा पुर्याइरहेका छन्। विदेशी कम्पनीका एम.आर. हरूले नेपालमा नबन्ने तर आवश्यक पर्ने विशिष्ट औषधिहरूको पहुँच सुनिश्चित गर्छन्। अवस्थामा चिकित्सकले लेखेको औषधि फार्मेसीमा उपलब्ध नहुन सक्छ। एम.आर. ले चिकित्सकलाई आफ्नो ब्रान्ड कुन-कुन फार्मेसीमा उपलब्ध छ भन्ने जानकारी दिन्छन्, जसले गर्दा बिरामीले औषधि खोज्दै भौंतारिनु पर्दैन ।
नेपालमा यो पेशा चुनौतीपूर्ण पनि छन् जस्तै विकट ठाउँका अस्पताल र क्लिनिकसम्म पुग्न कठिन यात्रा गर्नुपर्ने, चिकित्सकहरूसँग भेट्न लामो समय पर्खिनुपर्ने र निकै कम समय (प्राय: २-३ मिनेट) मा आफ्नो कुरा राख्नुपर्ने। कम्पनीका बिक्रीको लक्ष्यहरूबीच सन्तुलन मिलाउनुपर्ने, आदि । नेपालको स्वास्थ्य क्षेत्रमा एम.आर. हरू ‘अदृश्य फ्रन्टलाइनर’ हुन्। औषधि कम्पनीको लगानी, वैज्ञानिकको अनुसन्धान र चिकित्सकको उपचार पद्धतिलाई जोड्ने अन्तिम कडी नै मेडिकल रिप्रिजेन्टेटिभ हुन्।
हाल नेपालका केही सरकारी र निजी अस्पतालहरूले मेडिकल रिप्रिजेन्टेटिभ (MR) हरूलाई छिर्न निषेध गर्ने वा समय तोक्ने गरेको विषय निकै चर्चामा छ। यसका पक्ष र विपक्ष दुवैमा बलिया तर्कहरू छन्। यसलाई ‘जायज’ वा ‘नाजायज’ भन्नुभन्दा पनि यसका कारण र प्रभावलाई बुझ्न जरुरी छ:
१. निषेध गर्नुका ‘जायज’ कारणहरू (अस्पतालको तर्क) अस्पतालहरूले मुख्यतया व्यवस्थापकीय र नैतिक कारणले यस्तो निर्णय लिने गर्छन्:
क) बिरामीको चाप र अवरोध: नेपालका सरकारी अस्पतालमा बिरामीको ठूलो भीड हुन्छ। चिकित्सकहरूले एकै दिनमा सयौँ बिरामी हेर्नुपर्ने हुन्छ। यस्तो बेला एम.आर. हरूले भेट्न खोज्दा बिरामीको पालो ढिलो हुने र उपचारमा बाधा पुग्ने तर्क गरिन्छ।
ख) नैतिकता र आचारसंहिता (Ethics): कतिपय अवस्थामा कम्पनी र चिकित्सकबीचको सम्बन्धले ‘महँगो औषधि’ वा ‘अनावश्यक ब्रान्ड’ सिफारिस हुन सक्ने डर हुन्छ। यसलाई रोक्न अस्पताल प्रशासनले कडाइ गर्ने गर्छ।
ग) भीडभाड व्यवस्थापन: अस्पतालका गल्ली र ओपिडी (OPD) बाहिर एम.आर. हरूको ठूलो जमघटले बिरामी र आफन्तलाई आउजाउमा असुविधा पुग्न सक्छ।
२. निषेध गर्नुका ‘असरहरू’ (किन यो पूर्णतः जायज छैन?) पूर्ण निषेध गर्दा स्वास्थ्य प्रणालीमा केही नकारात्मक असरहरू पनि पर्न सक्छन्:
क) सूचनाको अभाव: नयाँ औषधि, तिनको साइड इफेक्ट र ‘अपडेट’ बारे चिकित्सकहरू जानकार हुन पाउँदैनन्। एम.आर. हरूले विश्वभर भइरहेका नयाँ क्लिनिकल ट्रायलका जानकारी निःशुल्क उपलब्ध गराउँछन्।
ख) औषधिको उपलब्धतामा समस्या: एम.आर. हरूलाई निषेध गर्दा अस्पतालको फार्मेसीमा कुन औषधि सकियो वा कुन नयाँ औषधि आवश्यक छ भन्ने ‘फिडब्याक’ कम्पनीसम्म पुग्दैन, जसले गर्दा औषधिको अभाव हुन सक्छ।
ग) स्वदेशी उद्योगलाई मार: विदेशी कम्पनीहरूले विज्ञापनमा ठूलो खर्च गर्न सक्छन्, तर नेपाली उद्योगहरूका लागि एम.आर. नै ‘ब्रान्ड एम्बेसडर’ हुन्। उनीहरूलाई रोक्दा स्वदेशी उत्पादनको प्रवर्द्धनमा बाधा पुग्छ।
मध्यमार्गी बाटो भनेको ‘निषेध’ होइन ‘व्यवस्थापन’ हो ।
MR लाई पूर्ण रूपमा निषेध गर्नुभन्दा पनि यसलाई व्यवस्थित (Systematic) बनाउनु नै उत्तम विकल्प देखिन्छ। धेरै विकसित देशहरू र नेपालका केही ठूला अस्पतालले निम्न उपाय अपनाएका छन्:
क) समय निर्धारण (Timing): बिरामी हेर्ने समयमा नभई, ओपिडी सकिएपछि वा खाजा समयमा (जस्तै: दिउँसो २ देखि ४ बजेसम्म) मात्र एम.आर. भेट्न पाउने व्यवस्था।
ख) हप्ताको निश्चित दिन: सबै दिन भीड गर्नुभन्दा हप्ताको १ वा २ दिन मात्र भेटघाटको समय तोक्ने।
ग) डिजिटल अपोइन्टमेन्ट: चिकित्सकसँग भेट्न पहिले नै अनलाइन वा दर्ता मार्फत समय लिने व्यवस्था, जुन अहिले गरी रहेको छ ।
घ) सामूहिक ब्रिफिङ: व्यक्तिगत रूपमा भेट्नुको सट्टा हप्तामा एक पटक विभागका सबै डाक्टरहरूलाई सामूहिक रूपमा नयाँ औषधिबारे जानकारी (Scientific Presentation) दिने हलको व्यवस्था गर्ने।
नेपाल जस्तो देशमा, जहाँ चिकित्सकहरूलाई अपडेट रहन र औषधिको आपूर्ति कायम राख्न एम.आर. को भूमिका महत्त्वपूर्ण छ, पूर्ण निषेध गर्नु जायज देखिँदैन। तर, बिरामीको उपचारलाई प्राथमिकता दिँदै एम.आर. हरूको उपस्थितिलाई मर्यादित र व्यवस्थित बनाउनु अस्पताल प्रशासन र औषधि कम्पनी दुवैको साझा दायित्व हो। मेडिकल रिप्रिजेन्टेटिभ (MR) बिना औषधिको उपलब्धता सहज र प्रभावकारी हुन अत्यन्तै कठिन देखिन्छ। आधुनिक स्वास्थ्य प्रणालीमा एम.आर. केवल एउटा ‘सेल्सम्यान’ मात्र होइनन्, उनीहरू ‘सप्लाई चेन’ (आपूर्ति शृङ्खला) का एक महत्वपूर्ण इन्जिन हुन्।
एम.आर. नहुने हो भने औषधिको उपलब्धतामा निम्न ५ वटा मुख्य संकटहरू आउन सक्छन्:
१. सूचनाको खाडल (Information Gap)
नयाँ औषधिको आविष्कार वा पुरानो औषधिको नयाँ साइड इफेक्टबारे जानकारी दिने पहिलो व्यक्ति एम.आर. नै हुन्। उनीहरू नहुँदा चिकित्सकहरू पुराना औषधिमै सीमित हुन सक्छन्। नयाँ र प्रभावकारी उपचार पद्धति (जस्तै: नयाँ भ्याक्सिन वा जीवनरक्षक औषधि) बिरामीसम्म पुग्न धेरै समय लाग्न सक्छ।
२. स्टक आउट (Stock-out) को समस्या एम.आर. ले बजारको नियमित अनुगमन (Market Survey) गर्छन्। उनीहरूले फार्मेसीमा कुन औषधि सकिन लाग्यो भन्ने कुराको जानकारी ‘स्टकिस्ट’ र ‘डिस्ट्रिब्युटर’ लाई दिन्छन्। एम.आर. नहुने हो भने फार्मेसीले आफैँ अर्डर नगरेसम्म वा कम्पनीले आफैँ थाहा नपाएसम्म औषधि उपलब्ध हुँदैन, जसले गर्दा बिरामीले औषधि नपाउने जोखिम (Artificial Shortage) बढ्छ।
३. कोल्ड चेन र गुणस्तर नियन्त्रणमा अवरोध हुन सक्छ धेरै औषधि र खोपहरूलाई निश्चित तापक्रममा राख्नुपर्ने हुन्छ। एम.आर. ले औषधि पसल र अस्पतालका फ्रिजहरूको नियमित जाँच र प्राविधिक सहयोग गरिरहेका हुन्छन्। उनीहरूको अनुपस्थितिमा औषधिको भण्डारणमा लापरवाही हुन सक्छ, जसले औषधिको प्रभावकारिता घटाउँछ।
४. ‘फार्माकोभिजिलेन्स’ (Pharmacovigilance) मा ढिलाइ हिन जान्छ जब कुनै औषधिको प्रयोगबाट बिरामीमा गम्भीर नकारात्मक असर देखिन्छ, चिकित्सकले पहिलो जानकारी एम.आर. लाई नै दिन्छन्। एम.आर. ले यो जानकारी तुरुन्तै कम्पनीको ‘क्वालिटी कन्ट्रोल’ विभागमा पुर्याउँछन्। एम.आर. नहुँदा यस्ता उजुरीहरू औपचारिक प्रक्रियामा अल्झिन सक्छन् र खराब औषधिको ब्याच फिर्ता (Recall) गर्न ढिलाइ भई जनस्वास्थ्यमा जोखिम बढ्न सक्छ।
५. स्वदेशी उद्योगको प्रवर्द्धनमा संकट उत्पन्न हुन सक्छ नेपाल जस्तो देशमा स्वदेशी औषधि उद्योगहरूले विदेशी (MNC) कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ। विदेशी कम्पनीहरूसँग ठूला विज्ञापन बजेट हुन्छन्। नेपाली कम्पनीहरूका लागि एम.आर. नै मुख्य शक्ति हुन्। एम.आर. नहुने हो भने नेपाली औषधि उद्योगहरू ओझेलमा पर्न सक्छन्, जसले गर्दा औषधिमा परनिर्भरता र मूल्य दुवै बढ्न सक्छ।
औषधि कम्पनीहरूले मेडिकल रिप्रिजेन्टेटिभ (MR) हरूलाई कसरी विकास गर्न सकिन्छ ? यस विषयमा पनि चर्चा गरौँ ।
१. औषधि कम्पनीहरूले मेडिकल रिप्रिजेन्टेटिभ (MR) हरूलाई केवल ‘सेल्सम्यान’ को रूपमा मात्र नहेरी ‘नलेज पार्टनर’ (Knowledge Partner) को रूपमा विकास गर्नुपर्छ। नेपाल जस्तो प्रतिस्पर्धी बजारमा एम.आर. हरूलाई अझ प्रभावकारी बनाउन गहन वैज्ञानिक र क्लिनिकल तालिम (Scientific Expertise) एम.आर. ले औषधिको नाम मात्र होइन, त्यसको भित्री विज्ञान बुझ्नुपर्छ। फार्माकोलोजी र मेकानिज्म: औषधिले शरीरमा कसरी काम गर्छ (Mechanism of Action) भन्ने कुराको गहिरो ज्ञान, रोगको पूर्ण जानकारी: कुन रोगमा कुन अवस्थामा कुन औषधि दिने र किन दिने भन्ने ‘क्लिनिकल’ बुझाइ, कम्प्यारेटिभ स्टडी: आफ्ना उत्पादन र बजारमा उपलब्ध अन्य ब्रान्डहरू बीचको वैज्ञानिक भिन्नता र विशेषताहरू (USPs) बुझाउन सक्ने क्षमताको विकास गर्नु पर्छ ।
२. डिजिटल र डाटा एनालिटिक्स तालिम (Digital Dexterity) अहिलेको उत्तर-आधुनिक समयमा पुरानो ‘पेपर भिजुअल’ ले मात्र पुग्दैन। ई-डिटेलिङ (e-Detailing): आईप्याड वा ट्याब्लेटमा एनिमेसन र भिडियोमार्फत औषधिको प्रभावकारिता देखाउने कलामा जोड दिनु पर्छ। डाटा प्रेजेन्टेसन: क्लिनिकल ट्रायलका जटिल ग्राफ र चार्टहरूलाई सरल भाषामा चिकित्सकसामु प्रस्तुत गर्ने सीप, भर्चुअल कम्युनिकेशन: जुम वा अन्य डिजिटल प्लेटफर्ममार्फत ‘भर्चुअल मिटिङ’ गर्ने र सम्बन्ध विस्तार गर्ने तालिम पनि दिनु पर्दछ ।
३. ‘प्रब्लम सोल्भिङ’ र कन्सल्टेटिभ सेलिङ (Consultative Selling)केवल “मेरो औषधि लेखिदिनुस्” भन्नुको सट्टा चिकित्सकका समस्या समाधान गर्ने भूमिकामा एम.आर. हुनुपर्छ। नीड्स एनालिसिस गरी चिकित्सकले आफ्नो क्लिनिकमा बिरामी उपचार गर्दा भोगिरहेका समस्या (जस्तै: साइड इफेक्ट वा महँगो मूल्य) पहिचान गरी आफ्नो उत्पादनबाट कसरी समाधान गर्न सकिन्छ भन्ने बुझाउने साथै महत्वपूर्ण पक्ष अब्जेक्सन ह्यान्डलिङ पनि हो जहाँ चिकित्सकले सोधेका कठिन प्रश्न वा शङ्काहरूलाई वैज्ञानिक तथ्यका साथ विनम्रतापूर्वक सम्बोधन गर्ने कलाको विकास पनि गर्नु पर्दछ ।
४. नैतिकता र आचारसंहिता (Ethical & Compliance Training): लामो समयसम्म बजारमा टिक्न ‘इथिक्स’ अनिवार्य छ। मार्केटिङ कोड अफ कन्डक्ट: औषधि व्यवस्था विभाग (DDA) र अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनका आचारसंहिता पालना गर्ने। बिरामी सुरक्षा (Patient Safety): औषधिको गलत प्रचार नगर्ने र केवल सहि जानकारी मात्र प्रवाह गर्ने जिम्मेवारी बोध गर्नुपर्दछ ।
५. सफ्ट स्किल्स र व्यक्तित्व विकास (Soft Skills & EQ): चिकित्सकसँगको २-३ मिनेटको भेटलाई प्रभावकारी बनाउन यी सीपहरू महत्त्वपूर्ण छन् जस्तै समय व्यवस्थापन र संक्षिप्तता जहाँ थोरै समयमा धेरै कुरा कसरी भन्ने? (Elevator Pitch), इमोसनल इन्टेलिजेन्स (EQ) चिकित्सकको मुड र परिस्थिति बुझेर संवाद अगाडि बढाउने क्षमता, लिडरसिप र टिमवर्क: मार्केटिङ र सप्लाई चेनका अन्य सदस्यहरूसँग समन्वय गर्ने सीप आदिको विकास पनि गराउनु पर्दछ ।
के मेडिकल रिप्रिजेन्टेटिभ (MR) आफ्नो कम्पनीको त प्रत्यक्ष मार्केटिङ्ग गर्छ त ?
मेडिकल रिप्रिजेन्टेटिभ (MR) लाई प्रायः कम्पनीको एजेन्टको रूपमा मात्र हेरिन्छ, तर वास्तवमा उनीहरू स्वास्थ्य सेवा प्रणालीका ‘नेटवर्किङ सञ्जाल’ हुन्। उनीहरूले आफ्नो ब्रान्डबाहेक अस्पताल, फार्मेसी, चिकित्सक र डिस्ट्रिब्युटर्सको प्रचार-प्रसार र व्यवसाय वृद्धिका लागि एक ‘अदृश्य कडी’ (Invisible Link) को रूपमा काम गर्छन्।
१. चिकित्सकको ‘बजार प्रतिष्ठा’ (Doctor’s Branding) निर्माणमाएम.आर. ले चिकित्सकको विशेषज्ञता र सफलताका कथाहरूलाई एक क्लिनिकदेखि अर्को क्लिनिकसम्म पुर्याउँछन्। जस्तै रेफरल नेटवर्क: यदि कुनै चिकित्सकले जटिल शल्यक्रिया वा उपचारमा सफलता पाएका छन् भने, एम.आर. ले त्यो जानकारी अन्य ‘जनरल प्राक्टिसनर’ (GP) हरूकहाँ पुर्याउँछन्। यसले गर्दा साना क्लिनिकबाट विशेषज्ञ चिकित्सककहाँ बिरामी पठाउने (Referral) क्रम बढ्छ।एकेडेमिक प्रोफाइलको बारेमा चिकित्सकका अनुसन्धानमूलक लेख वा सफलताका रिपोर्टहरूलाई मेडिकल जर्नल वा गोष्ठीहरूमा स्थान दिलाउन कम्पनीसँग समन्वय गरी उनीहरूको ‘बौद्धिक ब्रान्डिङ’ मा सघाउँछन्।
२. अस्पतालको ‘सेवा विस्तार’ र सूचना प्रवाहमा पनि उनीहरूको बिशेष भूमिका हुन्छन्, अस्पतालले महँगो विज्ञापन नगरीकनै एम.आर. मार्फत आफ्नो सेवाको प्रचार गरिरहेको हुन्छ। नयाँ सुविधाको दूतको रुपमा अस्पतालले भित्र्याएको नयाँ प्रविधि (जस्तै: डायलासिस, सिटी स्क्यान, वा विशिष्ट विभाग) को जानकारी एम.आर. ले आफ्नो दैनिक १००-१५० किलोमिटरको दौडधुपमा सबै फार्मेसी र चिकित्सकहरूलाई दिन्छन्। गुणस्तरको ग्यारेन्टी, “फलानो अस्पतालमा यो औषधि वा यो सेवा उत्कृष्ट छ” भन्ने एम.आर. को एक वाक्यले बिरामी र अन्य चिकित्सकमा उक्त अस्पतालप्रति विश्वास जगाउँछ।
३. फार्मेसीको ‘विश्वसनीयता’ र व्यापार वृद्धिमा पनि सहयोग पुगेको हुन्छ । फार्मेसी र एम.आर. बीचको सम्बन्ध ‘नङ र मासु’ को जस्तो हुन्छ जहाँ उपलब्धताको सूचना जस्तै चिकित्सकलाई कुन औषधि कुन फार्मेसीमा उपलब्ध छ भन्ने जानकारी एम.आर. ले नै दिन्छन्। यसले गर्दा बिरामी सिधै उक्त फार्मेसीमा पुग्छन्। स्टक व्यवस्थापनमा फार्मेसीलाई कुन सिजनमा कुन औषधिको माग बढी हुन्छ (जस्तै: बर्खामा झाडापखाला वा हिउँदमा दमको औषधि) भन्ने पूर्व-जानकारी दिएर उनीहरूको व्यापार घाटा कम गर्न र सेवा प्रभावकारी बनाउन सघाउँछन्।
४. लोकल डिस्ट्रिब्युटर्स (Stockists) को मेरुदण्ड को रुपमा मर हुन्छ । लोकल डिस्ट्रिब्युटर्सको व्यापार पूर्ण रूपमा एम.आर. को ‘डिमान्ड जेनेरेसन’ मा निर्भर हुन्छ। माग सिर्जनामा एम.आर. ले चिकित्सककहाँ गएर औषधिको माग (Prescription) सिर्जना गर्छन्, जसले गर्दा डिस्ट्रिब्युटरको सामान बिक्री हुन्छ। पेमेन्ट र कमान्ड को लागी बजारमा बाँकी रहेको रकम (Outstanding) उठाउन र डिस्ट्रिब्युटरको समस्या कम्पनीसम्म पुर्याउन एम.आर. ले महत्त्वपूर्ण भूमिका खेल्छन्। उनीहरूले डिस्ट्रिब्युटरलाई बजारमा ‘स्थापित’ गराउन मुख्य भूमिका खेल्छन्।
५. ‘हेल्थ इकोसिस्टम’ को सञ्चार माध्यम (Communication Hub) एम.आर. ले एउटा ‘सूचनाको पुल’ को रूपमा काम गर्छन् । अस्पतालदेखि फार्मेसीसम्ममा पनि MR, अस्पतालको नयाँ नीति वा चिकित्सकको क्लिनिक समय परिवर्तन भएको जानकारी फार्मेसीलाई दिने, फार्मेसीदेखि चिकित्सकसम्म, कुन औषधि बजारमा अभाव छ वा कुन औषधिको नयाँ विकल्प आएको छ भन्ने जानकारी चिकित्सकलाई दिने।
अतः सारांशमा भन्नु पर्दा Medical Representative भनेको स्वस्थ्य कर्मीहरु र औषधि कम्पनीहरू बीचको सम्बन्ध स्थापना गर्ने राजदूत हो । जसले मानिसको गुणस्तरीय जीवन कायम राख्नको साथी जीवन रक्षाको निम्ति महत्वपूर्ण पुलको काम गर्दछ । अहिलेको उत्तर आधुनिक युगमा MR लाई निषेध होईन नियमन गरी अझ बढी प्रोत्साहन गर्नु पर्दछ । अहिलेको समयमा विश्व व्यापी रूपमा चिन्ताको विषय बनेको एन्टिबायोटिक resistance, नयाँ Molecules अपडेट तथा नयाँ नयाँ नयाँ विकास भएका औषधि हरुको सहज उपलब्धका लागि उनीहरूको महत्वपुर्ण योगदान र भूमिका रहेको हुन्छ ।







