काठमाडौं, २२ माघ २०८२
हिजो-आज देशभर निर्वाचन अभियानको रौनक छ। नेताहरू माइकमा उभिएर आश्वासन बाँडिरहेका छन्, समर्थकहरू नारा लगाइरहेका छन्। तर यी सबैको भीडमा एउटा गम्भीर प्रश्न मेरो मनमा निरन्तर ठोक्किन्छ—
“यीमध्ये कसैले हाम्रो स्वास्थ्यको बारेमा गम्भीरतापूर्वक कुरा गरेका छन् त?”
एक चिकित्सकको रूपमा म हरेक दिन अस्पतालका वार्ड, ओपीडी र आपतकालीन कक्षमा जे देख्छु, त्यो नेताहरूका भाषणभन्दा धेरै कठोर यथार्थ हो।
· मैले पैसाको अभावमा उपचारबाट वञ्चित भएका परिवार देखेको छु
· राजनीतिक पहुँच भएकाले प्राथमिकता पाएको दृश्य पनि अवलोकन गरेको छु
· आवश्यक औषधि नपाएर असहाय बनेका दुरदराजका आमा–बुबा देखेको छु
· स्वास्थ्य बीमाको कागजात हुँदाहुँदै पनि उपचार नपाएका नागरिक देखेको छु
· र सीमित स्रोत–साधनमा अत्यधिक दबाबमा काम गर्न बाध्य हामी स्वास्थ्यकर्मीहरूको पीडा पनि भोगेको छु
यी कुनै छुट्टाछुट्टै घटना या मनगदन्त कथा कदापि होइनन्—
यो हाम्रो अस्पतालहरूको दैनिक यथार्थ हो।
हालै स्वास्थ्य बीमाको सीमा २५,००० रुपैयाँ मा सीमित गरिएको छ। २५ हजारको बीमा: जीवनको मूल्य कति?
आजको महँगी र स्वास्थ्य खर्चको यथार्थमा यो रकमले—
· एकपटकको सामान्य उपचार पनि धान्न सक्दैन
· सामान्य शल्यक्रियाको आधा खर्च पनि पुग्दैन
· क्यान्सर, मुटुरोगजस्ता गम्भीर रोगको त कल्पनै गर्न सकिँदैन
त्यसो भए स्वाभाविक प्रश्न उठ्छ—गरिब र मध्यम वर्गका नागरिक बिरामी परेपछि के गर्ने?
ऋण लिने? घर–जग्गा बेच्ने? कि उपचार नै त्याग्ने?
बुझनु पर्ने कुरा स्वास्थ्य सेवा: दया होइन, अधिकार हो। स्वास्थ्य सेवा कुनै उपहार होइन। यो संविधानले ग्यारेन्टी गरेको नागरिकको आधारभूत अधिकार हो।
तर जब अस्पतालभित्र राजनीति पस्छ,
जब स्वास्थ्य नीति कमजोर बन्छ,
जब बजेट कटौती हुन्छ—
यसको प्रत्यक्ष असर सिधै बिरामीमाथि पर्छ।
आज हामि नेपालका स्वास्थ्यकर्मीहरू नाजुक अवस्थामा काम गर्न बाध्य छौ। मेरा अधिकाम्स साथिहरु विदेशको तयारिनै हुनुव्छ र मलाई पनि सोहि गर्न सल्लाह दिरहनु भाछ॥
किन पनि नभन्नु हाम्रा समस्या
· न्यून तलब
· अत्यधिक कार्यभार
· जनशक्तिको गम्भीर अभाव
· उपकरण र औषधिको कमी
· मानसिक तनाव र पेशागत असुरक्षा
यी अवस्थामै स्वास्थ्यकर्मीहरूले दिनरात बिरामीको सेवा गरिरहेका छन्।स्वास्थ्यकर्मीको मनोबल, सुरक्षा र सम्मान बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन।त्यसैले स्वास्थ्य सुधारको एजेन्डामा
स्वास्थ्यकर्मीको हक, सुविधा र कार्य वातावरण पनि अनिवार्य रूपमा समावेश हुनैपर्छ।
यस निर्वाचनमा यी ५ प्रश्न अवश्य सोधौँ
१. स्वास्थ्य बजेट वर्तमान GDP को कति प्रतिशतबाट कति प्रतिशतमा पुर्याउने स्पष्ट योजना छ?
२. स्वास्थ्य बीमाको सीमा २५ हजारबाट यथार्थपरक रूपमा बढाउने प्रतिबद्धता छ कि छैन?
३. सरकारी अस्पतालमा डाक्टर, नर्स तथा अन्य स्वास्थक्रमी ,औषधि र उपकरणको अभाव कसरी पूरा गर्ने?
४. उपचारमा हुने राजनीतिक हस्तक्षेप र “पहुँचको राजनीति” कसरी अन्त्य गर्ने?
५. दुर्गम क्षेत्र, गरिब नागरिक र स्वास्थ्यकर्मीहरूको संरक्षण कसरी सुनिश्चित गर्ने?
मत: हाम्रो शक्ति, हाम्रो अधिकार
हाम्रो एउटा मतले—
· बलियो स्वास्थ्य नीतिको जग बसाल्न सक्छ
· कमजोर बीमा प्रणाली सुधार्न सक्छ
· अस्पतालमा बिरामीले सम्मानजनक उपचार पाउने वातावरण बनाउन सक्छ
आज चुप लाग्यौँ भने,
भोलि बिरामी पर्दा बोल्ने अवसर पनि नपाउन सक्छौँ।
यो निर्णयको घडी हो।
यस पटक मत—
· अनुहार हेरेर होइन
· जात हेरेर होइन
· पार्टीको झण्डा हेरेर होइन
· खोक्रा नारामा होइन
स्वास्थ्य, शिक्षा र हाम्रो भविष्य हेरेर हालौँ।
किनकि—
स्वस्थ नागरिक र सुरक्षित स्वास्थ्यकर्मी बिना समृद्ध राष्ट्र निर्माण सम्भव छैन।
डा. सन्दिप केसी
चिकित्सक
बागलुङ















