काठमाडौं ,८ जेठ
कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सामान्यीकरण” को सङ्केतका रूपमा वार्षिककि ७ शिखर सम्मेलनका लागि नेताहरुको बैठक गर्न प्रस्ताव राख्नु भएको छ ।
डब्लुएचओले बुधबार एकै दिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ । गत डिसेम्बरमा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो संख्या देखिएको हो ।
डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेबे्ररियससले आफू निम्न र मध्यम आय भएका देशहरूको अवस्थाबाट “धेरै चिन्तित” भएको बताउनुभएको छ ।
दक्षिण अमेरिकी देशहरुमा पछिल्ला दिनहरूमा संक्रमणको दर निकै बढेको छ । केही मुलुकले लकडाउन खुकुलो बनाए पनि संक्रमण बढेसँगै पुनःस्थापित गरेका छन् ।
ब्राजिलमा सबैभन्दा बढी बिरामी भेटिएका छन् । यहाँ विश्वमै तेस्रो सर्वाधिक संख्यामा संक्रमित देखिएका छन् । पेरू, मेक्सिको र चिलीमा पनि संक्रमण लगातार वृद्धि भइरहेको छ ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरूले एकै दिन १ हजार १७९ नयाँ कोरोनाभाइरस संक्रमितको मृत्यु भएको बताएका छन्, जबकि दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारोले लकडाउनको कडा विरोध गर्दै आउनु भएको छ । उहाँले विशेषज्ञहरूको सल्लाह विपरीत क्षेत्रीय गभर्नरहरूलाई लकडाउन हटाउन दबाब दिइरहनु भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जस्तै बोल्सोनारोले भाइरसको उपचारमा औलोको औषधीको प्रयोगलाई बढावा दिनु भएको छ । तर अध्ययनहरुले औलोको यो औषधि कोरोनाभाइरसको उपचारमा खासै फाइदाजनक नरहेको र शरीरलाई निकै हानि गर्ने बताएका छन् ।
आगामी नोभेम्बरमा पुनः निर्वाचनको सम्मुखमा रहेका राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने अडान पुनः राख्नु भएको छ । उहाँले अमेरिका पुरानै लयमा फर्कने बताउँदै आगामी जुनमा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्र (जि७) को शिखर सम्मेलनमा नेताहरुको उपस्थिति हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।
“म यो सम्मेलन वासिङ्टन डिसीको क्याम्प डेभिडमा गर्ने विचार गर्दैछु” उहाँले भन्नुभयो । “अरु नेताहरु पनि सहभागी हुनु हुनेछ । यो सबैका लागि ठूलो संकेत हुनेछ – सामान्यीकरण !”
यी ७ का देशहरू – बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्तराज्य अमेरिका – ले वार्षिक शिखर सम्मेलन आलोपालो आयोजना गर्ने प्रचलन छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोको कार्यालयले “स्वास्थ्य स्थितिले अनुमति दिएमा” उपस्थित हुने जनाएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले आफू “पर्ख र हेरको अवस्थामा रहेको” बताउनु भएको छ ।
विश्वव्यापी रुपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख २५ हजारभन्दा बढी र झण्डै ५० लाख मानिस संक्रमित भएका छन् । यसबीच विश्वभरिका सरकारहरू खोपको आशामा रहेका छन् ।
भाइरस निर्माणका सन्दर्भमा उत्साहजनक खबरहरु आइरहेका छन् । एउटा अध्ययनमा बाँदरहरूमा गरिएको प्रयोगमा मानिसहरूले भाइरस प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने देखाएको छ ।
यसैबीच, युरोपमा संक्रमण र मृत्यु दरमा ठूलै कमी आएपछि लकडाउन खुकुलो बनाउन थालिएको छ ।
एसियाका देशहरूमा पनि बिस्तारै खुकुलोपन ल्याउन थालिएको छ ।
भारतमा दुई महिनाको लकडाउन पछि मे २५ बाट घरेलु हवाई यात्रा पुनः सुरु हुँदैछ । भारतमा एकै दिन ५ हजार ६०० भन्दा बढी नयाँ कोरोना संक्रमित देखिए पनि व्यवसाय, यातायात र अन्य क्षेत्रमा बिस्तारै सहजता आउन थालेको छ ।
चीन, दक्षिण कोरिया, जापान र सिंगापुरले पनि व्यवसायहरु खोल्नुका साथै आम जनजीवनमा सहजीकरण गर्न थालेका छन् ।