काठमाडौं, १ कात्तिक २०८१
सरकारले देशभरिका बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ।
स्वास्थ्य सेवा विभाग पोषण शाखाका अनुसार ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो।
पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार यसपटक २१ लाख बालबालिकालाई भिटामिन ए खुवाईदै छ। यस्तै जुकाको औषधी खाने बालबालिकाको संख्या १९ लाख रहेको छ।
विसं २०७८ सालको राष्ट्रिय जनगणनाले बालबालिकाको संख्या यसअघिको तुलनामा ५ प्रतिशतले कमी देखिएको छ। त्यसैले भिटामिन ए र जुकाको औषधी खाने बालबालिकाको संख्यामा कमी देखिएको थापाले बताउनु भयो।
यो अभियानमा करीव ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १७ हजार बढी स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको समेत शाखा प्रमुख थापाले बताए।
यसपटक अभियान चलेका वडाहरुमा त्यस वडा स्वास्थ्य संस्थाबाट २ जना स्वास्थ्यकर्मी र स्थानीय तहका ३ जना गरी कम्तिमा ५ जनाले अनुगमन गर्ने व्यवस्था मिलाइएको समेत थापाले जानकारी दिए।
सरकारले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते यसैगरी भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्ने गर्दछ।