काठमाडौं, २५ असोज २०८०
दृष्टिदिवसका अवसरमा नेपाल नेत्रज्योति संघले आई केयर फाउन्डेशनको सहयोगमा आयोजना गरेको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम भएका छन् ।
संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा पौडेल प्रथम भएका हुन ।
त्यस्तै टिकटक प्रतियोगितामा शान्ति थापा द्वितीय भएकी छन् भने सन्जु गुप्ता तृतिय भएकी छन् । संघले पछि एक कार्यक्रमको आयोजना गरि विजेतालाई पुरस्कृत गरिनेछ । प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार र तृतियलाई २० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मानित गरिनेछ ।
संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रले प्रतियोगिताको घोषणा गर्द उत्कृष्ट एक लाई नगद ५० हजार सहित पुरस्कृत गर्ने घोषणा गरिएको भएतापनि प्रतियोगितामा प्रतियोगिहरुको उत्साहजनक सहभागिता आएको र आगामी दिनहरुमा समेत उनिहरुलाई आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक भिडियो बनाउन प्रोत्साहित गर्ने उद्देश्यले दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कृत गर्न लागिएको बताए।
संघका महासचिव भरतबहादुर चन्दले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले आयोजना गरिएको टिकटक भिडियो प्रतियोगितामा सहभागि सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बृद्धि गरी नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणमा हातेमालो गर्न आग्रह समेत गरे ।
बि.स. २०३५ सालमा एक गैर नाफामुलक गैरसरकारी संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढि आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरु मार्फन नेपाली नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।
विश्वमै सबैभन्दा ठुलो आँखा उपचार सेवाको सञ्जालका रुपमा रहेको नेपाल नेत्रज्योति संघले नेपालमा प्रवाह हुन आँखा उपचार सेवाको करिब ९० प्रतिशत हिस्सा ओगटेको छ । बार्षिक उपचार हुने बिरामीको संख्याका हिसाबाले हेर्दा पनि नेपाल नेत्रज्योति संघ विश्वमै दोस्रो स्थानमा देखिन्छ ।
स्थापना देखि हालसम्म संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
संघका केन्द्रिय अध्यक्ष प्रा.डा. चेतराज पन्तले बढदो जनसंख्या बृद्धि दर, औसत आयुमा बृद्धि, प्रविधिको अत्यधिक प्रयोग, वातावरणीय जोखिमयुक्त बसोबास, आधुनिक खानपान आदि कारणबाट आँखा स्वास्थ्यमा पर्न जाने नकारात्मक असर र उत्पन्न हुने नयाँ नयाँ आँखा रोगको निवारणका लागि संघ आजको यस महत्वपूर्ण दिनमा हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारीको भावना सहित अझ बढि प्रभावकारी, स्तरीय र सहज पहुँचयुक्त आँखा स्वास्थ्य सेवाको माध्यमबाट आम नेपालीको दृष्टि रक्षामा जुटिरहने प्रतिवद्धता समेत व्यक्त गरे।