स्याङ्जा, २ भाद्र २०८०
स्याङ्जा जिल्ला अस्पतालमा १० महिनापछि रिक्त मेडिकल सुपरिटेन्डेन्टको पदमा डा. रूक्मिना अधिकारी हाजिर भएकि छिन्।
अस्पतालमा प्रमुख रहनुभएका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यको लमजुङ जिल्ला अस्पतालमा कार्तिक १४ गते सरूवा भएपछि अस्पताल प्रमुखविहिन थियो ।
डा. आचार्यको सरूवा भएपछि वरिष्ठ नर्सिङ अधिकृत कृष्णकुमारी कार्कीले निमित्त कार्यालय प्रमुखको भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।
अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा आउनुभएकी डा. रूक्मिना अधिकारी यसभन्दा अगाडि जिल्ला अस्पताल प्रमुखका रूपमा पर्वतमा कार्यरत हुनुहुन्थ्यो ।
अस्पतालमा सरूवा भई आउनुभएकी डा. अधिकारीलाई अस्पतालमा स्वागत गर्दै अस्पतालका अध्यक्ष ईन्द्रबहादर गोदारले निमित्त भई काम गर्नु भएकी कृष्णकुमारी कार्कीलाई धन्यवाद दिनु भएको थियो ।
प्रमुखको जिम्मेवारी सम्हालेपछि बोल्दै डा. अधिकारीले आफूले विगत १४ महिना पर्वत जिल्ला अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा जिम्मेवारी निर्वाह गरेको र सो अनुभवको समेत उपयोग गर्दै प्रमुखको रूपमा रहने अवसरलाई क्षमताले भ्याएसम्म अस्पतालका हितमा उपयोग गर्ने बताउनुभयो।