चितवन, १६ साउन २०८१
चितवनको रत्ननगरमा रहेको प्रदेश स्तरीय बकुलहर रत्ननगर सरकारी अस्पतालमा प्रसूति गराउन आउने गर्भवतीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
अस्पतालको सेवामा गुणस्तरीयता बढेसँगै प्रसूति गराउन आउने गर्भवतीको चाप बढ्न थालेको हो । अस्पतालमा गत आर्थिक वर्षमा मात्रै ७४९ जना गर्भवतीले प्रसूति सेवा लिएका छन् । जसमध्ये ४२६ गर्भवतीले सामान्य, ३१८ गर्भवतीले शल्यक्रिया र ५ जना गर्भवतीले जटिल मानिने भ्याकुम सेवा सहितको प्रसूति सेवा लिएको अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिनुभयो ।
डा. ज्ञवालीका अनुसार आर्थिक वर्ष २०७९/८० मा २७६ जना गर्भवतीले सामान्य, २८० गर्भवतीले शल्यक्रिया र २ जना गर्भवतीले जटिल मानिने भ्याकुम सेवा लिएका थिए ।
अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा २५९ गर्भवतीले सामान्य १४४ गर्भवतीले शल्यक्रिया तथा सहितको प्रसूति सेवा लिएको मेसु डा. ज्ञवालीले बताउनु भयो ।
अस्पतालले हाल प्रसुती सेवाका लागि १५ शैया सहित २ जना विशेषज्ञ चिकित्सक र ७ जना प्रसूति तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसूती सेवा दिइरहेको छ ।
अस्पताल परिसरमा गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि छुट्टै मातृशिशु अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ । साढे १४ करोडको लागतमा निर्माण भइरहेको मातृशिशु अस्पताल संचालनमा आएपछि शैया क्षमता बढेर ५० शैयाको हुने र एकैपटक ३० जना महिलालाई सुत्केरी गराउन सकिने मेसु डा. ज्ञवालीको भनाई छ ।