समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनले पार्टीभित्र आर्थिक व्यवस्थापन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अनुभवलाई नेतृत्व तहमा उपयोग गर्ने एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन्।
चार्टर्ड एकाउन्टेन्टका रूपमा व्यावसायिक यात्रा सुरु गरेका खुमा अर्यालले ‘अर्याल एन्ड अर्याल चार्टर्ड एकाउन्टेन्ट्स’ स्थापना गरेका छन्। अर्यालले विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई वित्तीय तथा व्यावसायिक सेवा प्रदान गर्दै आएका छन्।
अर्यालको लगानी स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा समेत विस्तार भएको छ। भैरहवा मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज र सञ्जीवनी मेडिकल कलेजलगायत स्वास्थ्य संस्थामा उनको लगानी रहेको बताइएको छ।
अर्यालको कृषि क्षेत्रमा पनि लगानी छ। स्याङ्जामा आधुनिक पोल्ट्री फार्म सञ्चालन गरेका उनले जनकपुरमा ठूलो क्षमताको लेयर्स फार्म स्थापना गरेका छन्। हेटौंडास्थित दाना उद्योगलगायत अन्य उत्पादनमूलक परियोजनामा पनि उनको लगानी रहेको छ।
अर्याल कांग्रेस राजनीतिमा यसअघि पनि समानुपातिक संविधानसभा सदस्यका उम्मेदवारसमेत बनेका थिए। पार्टीमा उनले कार्यवाहक कोषाध्यक्ष तथा आर्थिक संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए।
अर्यालले आफ्नो व्यावसायिक तथा सामाजिक क्षेत्रको अनुभवलाई पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण र आर्थिक व्यवस्थापनमा उपयोग गर्ने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।








