नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।
“रिकभरीदेखि पुनर्मिलनसम्म: पीएमआरको विकसित भूमिका” (From Recovery to Reintegration: The Evolving Role of PMR) भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा देश-विदेशका ख्यातिप्राप्त विशेषज्ञहरूको सहभागिता रहेको छ।
सम्मेलनको मुख्य आकर्षणका रूपमा स्पास्टिसिटी (मांसपेशीको कडापन) व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यशाला सञ्चालन गरिएको थियो। कार्यशालामा सैद्धान्तिक छलफल, जटिल केसहरूको विश्लेषण र बिरामीको प्रारम्भिक परीक्षण विधिका विषयमा गहन अन्तरक्रिया सम्पन्न भएको थियो।
सो अवसरमा बिरामीहरूमा प्रत्यक्ष रूपमा अल्ट्रासाउन्ड (Ultrasound) र ईएमजी (EMG) प्रविधिद्वारा निर्देशित बोटुलिनम टक्सिन (जार्बोट – Zarbot) इन्जेक्सनको व्यावहारिक प्रयोग प्रदर्शन गरियो। यो प्रत्यक्ष प्रदर्शन भारतका पीएमआर विशेषज्ञ डा. अनिन्द्य देवनाथ र नेपालका वरिष्ठ न्युरोलोजिस्ट डा. अविनाश चन्द्रले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो।
उक्त प्राज्ञिक सत्र तथा छलफलको सहजीकरण क्यानडाका ख्यातिप्राप्त विशेषज्ञहरू डा. कोलिन ओ’कोनेल र डा. एन्ड्रिया टाउनसनले गर्नुभएको थियो। कार्यशालामा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट करिब ४० जना चिकित्सकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा NSPMR का अध्यक्ष डा. राजु ढकालले स्पास्टिसिटी व्यवस्थापनमा भित्रिएका यस्ता अत्याधुनिक प्रविधिले स्पाइनल इन्जुरी तथा पक्षाघात भएका बिरामीहरूको जीवनस्तर र पुनर्स्थापनामा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा गुफिक बायोसाइन्सेस लिमिटेड (Gufic Biosciences Ltd) का कन्ट्री म्यानेजर दीपक भट्टाचार्यको समेत विशेष उपस्थिति रहेको थियो।








