कैलाली, ०८ फागुन २०८२
स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै निसर्ग अस्पतालका डा. चिरञ्जीवी पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।
जनरल फिजिसियन तथा पल्मोनरी क्रिटिकल केयर विशेषज्ञ डा. पन्त करिव तीन दशकदेखि चिकित्सा क्षेत्रमा अटुट रूपमा सक्रिय छ्न।
चिकित्सा सेवा, शिक्षण, सैनिक अनुभव तथा विशिष्टीकृत उपचारमा उनले पुर्याएको योगदानको कदर गर्दै धनगढीस्थित राईजिङ बोर्डिङ स्कुलले डा. पन्तलाई उक्त सम्मान प्रदान गरेको हो।
डा. पन्तले २१ वर्ष नेपाली सेनामा सेवा गरेका थिए। सैनिक सेवाका क्रममा उनले ५ वर्ष मेडिकल अधिकृत र १६ वर्ष परामर्शदाता चिकित्सकका रूपमा जिम्मेवारी सम्हालेका थिए।
यस्तै, संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत हाइटी र कंगोमा दुईपटक सिनियर मेडिकल अधिकृतका रूपमा खटिएर उनले अन्तर्राष्ट्रिय स्तरमा समेत सेवा प्रदान गरेका थिए।
डा. पन्तले नेपाल आर्मी ईन्सिटिच्युट अफ हेल्थ साईन्समा १२ वर्ष अध्यापन गरेको अनुभव छ। त्यस अवधिमा ६ वर्ष सहप्राध्यापक र ६ वर्ष उपप्राध्यापकका रूपमा चिकित्सक उत्पादनमा समेत उनको महत्वपूर्ण भूमिका रहेको थियो।
शैक्षिक रूपमा डा. पन्तले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस, बिर अस्पताल (न्याम्स) बाट एमडी र चितवन मेडिकल कलेजबाट पल्मोनरी क्रिटिकल केयर मेडिसिन विषयमा फेलोसिप उपाधि हासिल गरेका छन्। उनले युनाईटेड मिसन हस्पिटल तानसेनमा इन्टर्नसिप सम्पन्न गरेका थिए।
डा. पन्त हाल धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा पूर्णकालीन रूपमा श्वासप्रश्वाससम्बन्धी जटिल रोगहरूको उपचारका लागि अब्बल मानिन्छन्।
दम, दीर्घ अवरोधात्मक फोक्सो रोग, निमोनिया, क्षयरोग, फोक्सोमा पानी जम्ने समस्या, एलर्जीजन्य श्वासप्रश्वास समस्या, स्लीप एपनिया तथा सघन उपचार कक्षमा भर्ना गर्नुपर्ने गम्भीर अवस्थाको बिरामी व्यवस्थापनमा डा. पन्तको विशेष दक्षता छ।
डा. पन्तले यसअघि राष्ट्रपतिबाट प्रदान गरिने ‘प्रबल जनसेवा श्री चौथो’ पदकबाट पनि सम्मानित भइसकेका छन्।





