काठमाडौं, २२ जेठ २०७९
काठमाडौंको कलंकी स्थित रहेको नेपाल नेशनल हस्पिटलले शनिबार बिभिन्न कार्यक्रमहरु बनाएर आफ्नो पाँचौ बार्षिकोत्सव मनाएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री, अर्थ तथा गृहमन्त्री बिष्णु प्रसाद पौडेलले सबैका लागि सहज गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो ।
देशको स्वास्थ्य क्षेत्रमा समस्याहरु धेरै रहेको भन्दै उपाध्यक्ष पौडेलले स्वास्थ्यकर्मीहरुका समस्या समाधान गर्दै र मनोबल बढाउँदै स्तरीय सेवाका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष पौडेलले मुनाफाभन्दा पनि सेवालाई केन्द्रमा राख्दै सबैको मनमा बस्ने गरी अग्लो अस्पताल बन्न शुभकामना दिनुभयो ।
बार्षिकोत्सवमा अस्पतालका मेडिकल डाईरेक्टर डा. प्रकाश पौडेलले अस्पताल स्थापनाको ईतिहास स्मरण गर्दै गुणस्तरीय सेवा प्रवाहका लागि सञ्चालक, स्वास्थ्यकर्मी र कर्मचारीहरु प्रतिबद्ध रहेको बताउनुभयो।
बिगतमा कोभिडको उच्च जोखिमका बेला समेत साहसका साथ उपचारमा खट्न पाएको स्मरण गर्दै डा. पौडेलले २०७४ सालमा शुरुवात भएको यो अस्पतालमा अहिले १८७ भन्दा बढि कर्मचारी, स्वास्थ्यकर्मी सकृय रहेको र दैनिक सय जनाभन्दा बढि बिरामीको उपचार भइरहेको जानकारी गराउनुभयो । उहाँले अस्पताल छिट्टै जग्गा र भवनमा सञ्चालन हुँने बिश्वास दिलाउनुभयो ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिका अस्पताललाई आबश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुर्ब आचार्यले स्वास्थ्य र खेल एकअर्काका परिपुरक भएको चर्चा गर्दै स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि राजनैतिक नेतृत्वसंग निरन्तर छलफल र अन्तरक्रिया जरुरी रहेको बताउनुभयो।
कार्यक्रमको अवसरमा काठमाण्डौ उपमहानगरपालिका १४ नम्बर वडाका अध्यक्ष सुमन श्रेष्ठ, नागार्जुन नगरपालिका वडा नम्बर १० का अध्यक्ष सुन्दर केसी, स्थानीय अगुवा मोहन अधिकारी लगायतले मन्तव्य राखेका थिए।
दिनेश पौडेल र सानुकाजी श्रेष्ठले सहजिकरण गरेको कार्यक्रममा बिभिन्न प्रतियोगिताहरुमा उत्कृष्टहरुलाई पुरस्कार, बिभिन्न बिधाका उत्कृष्ट अवार्ड वितरणका साथै साँस्कृतिक कार्यक्रम गरेको छ।