काठमाडौं, ४ असोज २०८१
नेपाल मेडिकल कलेजको कलेज अफ डेण्टल साइन्सेस एण्ड अस्पतालले बाल गृहमा आश्रित बालबालिकाहरुको निःशुल्क दन्त परीक्षण गरेको छ ।
मंगलबार कलेजको डेण्टल अस्पतालले अत्तरखेल वडा नं. ८ स्थित बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउण्डेशन नेपालमा आश्रित बालबालिकाहरुको दाँतको स्वास्थ्य जाँच गरेको हो ।
बालगृहमा आश्रित ३० जना बालबालिकाको दाँतको स्वास्थ्य जाँच गरिनुको साथै बालबालिकाहरुलाई दाँत र मुखको स्याहार कसरी गर्ने भन्ने बारेमा सचेतना समेत दिइएको थियो । शिविरमा कलेजका दन्त रोग अस्पतालका डाक्टरहरू अनुष्का शाक्य, सूची काेजू, सञ्जिला महर्जन, श्रेया मिश्रा, अञ्जुला मल्लले दन्त परीक्षण गर्नुका साथै आश्रित बालबालिकाहरुलाई दाँत तथा मुखको स्याहार सुसार र सरसफाईको बारेमा जानकारी दिएको नेपाल मेडिकल कलेजले जानकारी दिएको छ ।
२०७२ सालमा स्थापना भएको बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउण्डेशन नेपालले अनाथ, असहाय र विपन्न बालबालिकाहरुको संरक्षण, स्याहारसुसार गर्दै आइरहेको छ । नेपाल मेडिकल कलेजले सामाजिक उत्तदायित्व अन्तरगत समयसमयमा विभिन्न प्रकारका स्वास्थ्य शिविरहरु गर्दै आइरहेको छ ।