सुदूरपश्चिम प्रदेशको दुर्गम क्षेत्र अछाममा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ जनाको सफल शल्यक्रिया गरेको छ।
अस्पतालले एकै दिनमा हाडजोर्नीसम्बन्धी विभिन्न जटिल प्रकृतिका ६ वटा सफल शल्यक्रिया गर्दै बिरामीला गुणस्तरीय तथा समयमै उपचार सेवा प्रदान गरेको छ।
सोमबार अस्पतालमा एकैदिन शल्यक्रिया गरिएका बिरामीमध्ये चार जना बालबालिका, १५ बर्षको युवक र ५० वर्षीय पुरुष रहेका छ्न। यी चारै जना बालबालिकाको सुप्राकोन्डाइलर ह्युमेरस टाइप–३ फ्र्याक्चर रहेको र उनीहरूको शल्यक्रियाको नेतृत्व अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विश्व निरौलाले गरेको बताइएको छ।
त्यसैगरी, १५ वर्षीय एक किशोरको देब्रे हातको फ्र्याक्चर तथा ५० वर्षीय एक पुरुषको देब्रे घुँडाको जटिल फ्र्याक्चरको पनि सफल शल्यक्रिया गरिएको अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. निरौलाले जानकारी दिनुभयो।
शल्यक्रिया गरिएका ६ जना बिरामीमध्ये ५ जना डोटी जिल्लाबाट उपचारका लागि बयालपाटा प्रादेशिक अस्पतालमा रेफर भई आएका थिए। यसले अस्पतालप्रति छिमेकी जिल्ला तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकको बढ्दो विश्वास र विशेषज्ञ सेवाको पहुँच थप पुष्टि गरेको छ।
सफल उपचारपछि ६ जनामध्ये ५ जना बिरामी सोही दिन स्वास्थ्य लाभ गर्दै घर फर्किएका छन्। यसले अस्पतालको प्रभावकारी उपचार प्रणाली, विशेषज्ञ चिकित्सकहरूको दक्षता तथा समन्वित स्वास्थ्य सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
अस्पतालले शल्यक्रिया मात्र नभई बिरामीको सम्पूर्ण उपचार आकस्मिक कक्ष, भर्ना कक्ष, शल्यक्रिया कक्ष हुँदै उपचारपश्चात् पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किने अवस्थासम्म उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तर कायम राखेको छ।
अस्पतालले सफल उपलब्धिका लागि आकस्मिक कक्ष, भर्ना कक्ष, शल्यक्रिया कक्ष, बेहोस बनाउने (एनेस्थेसिया) टोली, नर्सिङ सेवा तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूको अथक मेहनत, उत्कृष्ट समन्वय र समर्पणप्रति हार्दिक आभार व्यक्त गरेको छ।
बयालपाटा प्रादेशिक अस्पतालले दुर्गम क्षेत्रमा पनि विशेषज्ञ स्वास्थ्य सेवा सम्भव छ भन्ने सन्देशलाई व्यवहारमै प्रमाणित गर्दै नागरिकलाई गुणस्तरीय, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो अभियानलाई निरन्तर राख्दै अघि बढाइरहेको छ।






