काठमाडौँ, ३१ साउन २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत छ दिने भारत भ्रमणमा निस्केका छन् । मंगलबार साँझ भारतको गुजरात प्रस्थान गरेका उनले यो अवधीमा स्वास्थ्यका तीनवटा कार्यक्रममा भाग लिने बताइएको छ ।
सचिवालयका अनुसार मन्त्री बस्नेतले आज र भोली विश्व स्वास्थ्य संगठनको आयोजनामा गुजरातमा हुने क्षयरोग सम्बन्धी एक कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ दक्षिणपूर्वी एशियाली देशका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।
यस्तै बिहीबार विश्व स्वास्थ्य संगठनकै आयोजनामा हुने परम्पारगत चिकित्सा सम्बन्धी ग्लोवल सम्मेलनमा सहभागी हुनेछन् । सोही अवसरमा मन्त्री बस्नेतले गुजरातको गान्धीनगरमा आयोजना गरिने औषधि र प्रविधिको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यो कार्यक्रमको उद्घाटन गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम गेब्रेयसस आउनेछन् । उनीसंगै भारतका स्वास्थ्यमन्त्री डा. मनसुख मण्डाविया, आयुषमन्त्री सर्वानन्द सोणोवाल लगायत सहभागी हुने बताइएको छ ।
यस्तै शुक्रबारदेखि आईतबारसम्म भने उनले वन अर्थ, वान हेल्थ समिटमा सहभागी हुनेछन् । त्यहाँ उनले सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री बस्नेतको टोलीमा अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्र, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ, सचिवालयका सदस्य विश्वरुप खड्का सहित छ जनाको टोली भारत गएको छ । मन्त्री बस्नेत आगामी ३ भदौमा स्वदेश फर्कने छन् ।