काठमाडौं, ३१ बैशाख २०८१
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जेठ १ गते देखि गर्भमा रहेको बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा शुरु हुने भएको छ।
यस अघि गंगालाल लगायत अन्य निजी अस्पतालमा गएर गर्नुपर्ने यो सेवा गर्भवती आमा र पेटमा रहेको बच्चाको मुटुको अवस्था बुझ्ने ईको कार्डियोग्राफी सेवा शुरु हुने भएको हो।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले नयाँ सेवा विस्तारका रुपमा गर्भवती महिला र गर्भमा रहेको बच्चाको मुटुको जाँच ‘इको कार्डियोग्राफी’ शुरु गर्न लागेको जानकारी दिए। यस अघि गंगालाल अस्पताल तथा अन्य निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई सहजीकरण गर्न गंगालालकै डाक्टरले हप्ताको तीन-तीन दिन आएर यो सेवा दिइने बताउनुभयो।
डा. अधिकारीका अनुसार जेठ १ गते देखि बेलुका ५ बजेपछि ‘इको कार्डियोग्राफी’ हुने छ भने यसको लागि टिकट भने ३ बजे खुल्ने छ।
गर्भवती तथा अन्य महिलाको ‘इको कार्डियोग्राफी’ आइतबार, मंगलबार र बिहीबार हुने छ भने गर्भमा रहेको शिशुको ‘इको कार्डियोग्राफी’ सोमबार, बुधबार र शुक्रबार हुने छ।
डा. अधिकारीले यस सेवाले अस्पतालमा आउने गर्भवती महिलालाई सहज हुने विश्वास लिइएको बताए।