कञ्चनपुर, २६ जेठ २०८१
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिकामा रहेको समाज कल्याण अञ्चल वाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एंव औषधि वितरण गरेको छ ।
शनिवार अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको ३० जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना वालवालिकाको स्वास्थ्य जाँच गरि औषधि वितरण गरेको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले जानकारी दिनुभयो।
डा. भट्टका अनुसार सजह रुपमा स्वास्थ्य सेवा पाउन नसकेका वस्तीहरुमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउदै आएको छ, सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धसेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एंव औषधि वितरण गरेका हौं ।
त्यसैगरी, महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका ३० जना वृद्धवृद्धाको समेत स्वास्थ्य परिक्षण एंव औषधि वितरण गरेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालले विकट बस्ती र स्वास्थ्य सेवामा पहुँच नभएका स्थानमा बिगत देखि अहिलेसम्म निरन्तर स्वास्थ्य शिविर गर्दै आएको बताए ।
अध्यक्ष भट्टका अनुसार यसअघि दोधारा चाँदनी र लालझाडीको विकट बस्तीमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरेका थियौ । सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ ।
समाज कल्याण अञ्चल वाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले दाताको भरमा सञ्चालन भइरहेको अनाथालयमा अस्पतालले औषधि उपचार गरिदिदा थप सहयोग पुगेको बताउनु भयो । “अहिले अनाथालय दाताहरुको दानले चलिरहेको छ राज्यपक्षबाट सहयोग हुन सकेको छैन ।” उनले भने–“अनाथालय दैनिक सञ्चालनमा समस्या भइरहेका बेला अस्पतालले औषधि उपचार गरिदिदा सहज भएको छ ।”
जोशीका अनुसार अनाथालयमा २५ जना वालवालिका रहेका छन । उहाँहरुको पालनपोषण दाताहरुकै भरमा भइरहेको छ।