भक्तपुर, १३ भाद्र २०८१
भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार ३०० जनाको मिर्गौला र २८ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको छ ।
उक्त अवसरमा आयोजित कार्यक्रममा मस्तिष्क मृत्युपश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धि विशेष कार्यक्रमको आयोजना गरिएको थियो । केन्द्र स्थापना भएको छोटो समयमा नै प्रत्यारोपणमा ठूलो फड्को मारेको छ ।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लीलादेवी गड्तौलाले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले प्रत्यारोपण क्षेत्रमा उपलब्ध गराइरहेको सेवाप्रति नेपाल सरकार कृतज्ञ रहेको बताइन् । उनले केन्द्रबाट देशभरका अंग फेल भएका विरामीहरु लाभान्वित हुँदै गएकोमा केन्द्रका परिवारलाई धन्यवाद दिइन् ।
मुख्य सचिव गड्तौलाले सिमित भौतिक पूर्वाधारबीच केन्द्रले विश्वस्तरीय सेवा उपलब्ध गराएकोमा देशकै गौरवका विषय भएको बताइन् । उनले धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि उपयुक्त जग्गा प्राप्ती गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण बिज्ञ डा. पुकारचन्द्र श्रेष्ठले केन्द्र स्थापनाको १२ वर्षमा संसारको उत्कृष्ट अस्पतालहरुको जस्तै नतिजा दिन सकेको बताए ।
डा. पुकारले केन्द्रमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुको ठूलो योगदान रहेको भन्दै केन्द्रको आफ्नो एक इन्च पनि भवन र उपयुक्त जग्गा जमिन नभएको वर्तमान अवस्थामा पनि देशकै सबैभन्दा बढी सफलतापूर्वक प्रत्यारोपण गरिसकेको जानकारी दिए ।
डा. श्रेष्ठले उपयुक्त जमिन उपलब्ध हुनासाथ केन्द्रको क्षमता विस्तार गरी तत्काल तीनसय बेडको प्रिफ्याब भवन ६ महिनाभित्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए । उनले तत्काल नेपाल सरकारसँग भक्तपुको सुर्यविनायक नगरपालिकास्थित नेपाल सरकार उद्योग मन्त्रालयको स्वामित्वमा रहको २५८ रोपनी जग्गा मध्ये १०० रोपनी जग्गा केन्द्रलाई उपलब्ध गराउन माग गरे । उक्त जग्गा उपलब्ध भएमा मिर्गौल र कलजो प्रत्यारापणको लागि पर्खाइमा बसीरहेका विरामीहरुलाई निर्वाध सेवा दिन सकिने बताए ।
केन्द्रले गत आर्थिक वर्ष २०८०÷८१ मा १९६ जनाको मिर्गौला र १५ जनाको कलेजो गरी जम्मा २११ जनाको प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न गरेको थियो । उनले शतप्रतिशत रेकर्ड विश्वमा विरलै पाइने जानकारी दिनुभयो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा हुनु गर्वको विषय भएको बताइन् । उनले केन्द्रलाई जमिन उपलब्ध गराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।