भक्तपुर, २७ चैत्र २०८०
शहीद धर्मभक्त राष्ट्रिय मानव प्रत्यारोपण केन्द्रमा ८१ वर्षीय हजुरबुवाले आफ्नी २१ वर्षीय प्यारी नातिनीलाई मृगौला दान गरेका छन् ।
धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत सोमबार उक्त मिर्गौला प्रत्यारोपण भएको हो ।
यो प्रत्यारोपण विश्वमै कम पाइन्छ । यो प्रत्यारोपणबाट दाता जुनसुकै उमेरका हुनसक्ने र प्रत्यारोपणमा दाता र ग्रहणकर्ता बिचको लैङ्गिक असमानतामा पनि सुधार गर्न सकिने केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनु भयो।
डा. श्रेष्ठका अनुसार प्रत्यारोपण पश्चात् अङ्गदाता ८१ वर्षीया हजुरबुबा चौथो दिनमा र ग्रहणकर्ता नातिनी छैटौँ दिनमा सकुशल डिस्चार्ज भएका छन् ।
केन्द्रले १२ वर्षको अवधिमा १२२७ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ भने २३ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ।