काठमाडौं, ०१ भाद्र २०८०
काठमाडौँ उपत्यकाका स्कुल तथा कलेजहरुमा अध्ययनरत १ लाख जना विद्यार्थीको मुख तथा दन्त परीक्षण गरिने भएको छ ।
‘गिभ अ स्माइल’ प्रोजेक्ट अन्तर्गत कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) को प्राविधिक सहयोगमा बीएम फाउण्डेसनले विद्यार्थीहरुको दन्त परीक्षण गर्ने भएको हो । एक वर्षे सो परियोजनामा फाउन्डेशनले रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ र रोटरी क्लव अफ काठमाडौँ नर्थसंग सहकार्य गरेको छ । उक्त परियोजना आजदेखि सुरु हुने जनाएको छ ।
बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ, केडीसीका प्रिन्सिपल डा. रबिन्द्रमान श्रेष्ठ, रोटरीका अध्यक्ष सुवास घिमिरेले यो परियोजना अघि बढाउने सम्बन्धि सम्झौँता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौँता अनुसार अब काठमाडौँ, भक्तपुर र ललितपुरका स्कुल तथा कलेजका गरी १ लाख विद्यार्थीहरुको मुख तथा दन्त परीक्षण गरिनेछ ।
परीक्षणमा खटिने स्वास्थ्य प्राविधिक टोलीले विद्यार्थीहरुलाई मुख तथा दन्त स्वास्थ्यका बारेमा प्रशिक्षण समेत दिने बताइएको छ।