काठमाडौं, १० फागुन २०७९
राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार कमला गुरुङले पाउनुभएको छ। राधा क्यान्सर सचेतना फाउण्डेसनले दिँदै आएको २० हजार राशीको यो पुरस्कार यसवर्ष गुरुङले पाउनुभएको हो। गुरुङ स्वास्थ्य खबरपत्रिकामा कार्यरत हुनुहुन्छ । पुरस्कारका लागि परेका आवेदन मध्येबाट गुरुङ छनोट हुनुभएको हो ।
मंगलबार फाउण्डेसनले नवलपुरको कावासोतीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा गुरुङलाई पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कार ग्रहणपछि गुरुङले पत्रकारितामार्फत आफूले गरेको योगदानको मूल्यांकन गर्दै पुरस्कारका लागि छनोट गरेकोमा राधा क्यान्सर सचेतना फाउण्डेसनलाई धन्यवाद दिनुभयो । पुरस्कारले आफ्नो कर्मथलोप्रति झनै जिम्मेवार बनाउन प्रोत्साहन मिलेको गुरुङले बताउनुभयो।
फाउण्डेसनले पत्रकार स्व.राधा बस्यालको जन्म जयन्तीमा हरेक वर्ष हिंसा विरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार दान गर्दै आइरहेको छ।
२०४८ सालमा जन्मिनु भएकी पत्रकार राधा बस्यालले एक दशक भन्दा बढी समय नवलपुरमा रहेर पत्रकारिता गर्नुभयो । उहाँले वैवाहिक जीवनपछि घरेलु हिंसा समेत भोग्नुपर्यो। यसैबीच राधालाई स्तनक्यान्सर देखियो ।
क्यान्सरसँग लड्दै राधाले समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान चलाउनुभएको थियो । स्तनक्यान्सरकै कारण २०७७ कार्तिक १४ गते राधाको निधन भएको थियो। राधाको निधनपश्चात फाउन्डेसनलाई उहाँका भाई प्रकाश बस्यालले निरन्तरता दिइरहनुभएको छ।