ललितपुर, १२ पुष २०८१
ललितपुरको हिमालया होटलमा स्वास्थ्यकर बुढ्यौली सम्वन्धी सरोकारवालाहरुसँग अन्तर क्लव बैठक गरिएको छ।
रोटरी डिस्ट्रिक्ट ३२९२ नेपालले स्वास्थ्य विभाग, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र जेरियाट्रिक सोसाइटी अफ नेपालको सहकार्यमा स्वास्थ्यकर बुढ्यौलीबारे अन्तर क्लव बैठक आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले वृद्धावस्थामा परिवारको सामीप्यता आवश्यक पर्ने भएकोले अन्य सदस्यहरुले उनीहरूको कुरा सुनिदिने बानीको विकास गर्नुपर्ने बताए। डा. देवकोटाले सबैले ज्येष्ठ नागरिक बोझ नभई जिम्मेवारी हुन् भन्ने बुझ्नुपर्ने सम्बन्धि धारणा राखे।
त्यसैगरी ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कंडेलले हाल बुढ्यौलीपनको अवस्थामा मान्छेले बिर्सने खालको समस्याहरु भोग्नुपर्ने तथा नेपाली समाजमा यसलाई ठूलो रुपमा नलिने गरेको अवस्थामा यस्ता कार्यक्रमले सचेतना दिन विश्वास व्यक्त गरे।
डा. कंडेलले ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको अवस्थामा बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने ज्ञान सबैमा हुनुपर्ने बिचार व्यक्त गरे।
त्यस्तै कार्यक्रममा स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा कुमारी निरौलाले बुढ्यौलीसँग सम्वन्धित ऐन कानुन के कस्ता छन् र नेपालमा बुढ्योलीको तथ्यांक के कस्तो छ भन्ने विषयमा जानकारी दिइन्।
कार्यक्रममा जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष डा. उमेश बोगटी, जेरियाट्रिसियन डा. अनन्त अर्याल, मनोचिकित्सक डा. निदेश सापकोटा, विश्व स्वास्थ्य संगठनका कन्ट्री रेप्रिजेन्टिभ डा. राजेश साम्भाजीव पाण्डव, रोटरी डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचन, आयुर्वेद तथा वैकल्किक चिकित्स विभागका डा. वंशदिप खरेल, ललितपुर माहानगरपालीकाका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जन लगायत, जेरियाट्रिक केयर होमकी संचालक प्रमिला बज्रचार्यले आफ्ना बिचार राखेका थिए।
कार्यक्रममा वृद्धावस्थामा देखिने स्वास्थ्य चुनौतीहरूको पहिचान, आधुनिक चिकित्सा समाधान र सामाजिक समर्थन प्रणालीको महत्त्वबारे विचार विमर्श गरिएको थियो।
कार्यक्रमका प्रमुख वक्ताहरूले वृद्धावस्थामा स्वस्थ र सम्मानजनक जीवन जिउनका लागि जनचेतना वृद्धि, नीति निर्माण, र सामुदायिक सहकार्य आवश्यक रहेको औंल्याए।
कार्यक्रममा वृद्ध व्यक्तिका लागि स्वास्थ्य सुविधामा पहुँच, मानसिक स्वास्थ्यको ख्याल, र पोषणयुक्त जीवनशैलीका उपायहरूबारे कार्यपत्र प्रस्तुत गरिएको थियो।
सहभागीहरूले वृद्ध व्यक्तिहरूको जीवनलाई सहज बनाउन विभिन्न संघसंस्था, सरकार र समुदायको भूमिकाबारे महत्वपूर्ण छलफल गरेका थिए।
कार्यक्रमको उद्देश्य ज्येष्ठ नागरिकहरूको स्वास्थ्य र जीवनस्तर सुधार गर्नका लागि बहुआयामिक रणनीति निर्माण गर्नु रहेको जनाउदै रोटरी डिस्ट्रिक्ट ३२९२ नेपालले भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरी स्वस्थ वृद्धावस्थाबारे सचेतना जगाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।















