ललितपुर, ७ कात्तिक २०८१
बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर स्वास्थ्य कार्यलय उत्कृष्ट हुन सफल भएको छ ।
कात्तिक ५ गतेदेखि प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडामा भएको वार्षिक समीक्षा कार्यक्रममा बुधवार स्वास्थ्य कार्यालय ललितपुर उत्कृष्ट घोषित भइ प्रमाणपत्र प्राप्त गरेको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रमुख डा. पौडेललाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
डा. पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरण समेतको मूल्याङ्कनका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले पुरस्कृत गरेको हो।