काठमाडौं, २५ भदौ २०८०
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल भर्ना भएका पुर्व राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था र भइरहेको उपचारका बिषयमा बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका छन् ।
मन्त्री बस्नेतले वीर अस्पतालको विशिष्ठ (भिआईपी) कक्षमा उपचार गराइरहेका डा. यादवलाई भेटेर स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिएका छन् । डा. यादवले आफ्नो उपचारमा वीरका चिकित्सकहरुले कुनै कमि नगरेको महसुुस गरेको बताएका थिए ।
मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्री भएपछि वीरमा भिआईपी र भिभिआईपी गरि दुई शैया थप्न लगाएर पाँच शैया पुर्याएको र भिआईभी र भिभिआईपीको उपचारका लागि वीर सहित देशका ख्यातिप्राप्त १७ जना विज्ञ चिकित्सकहरुको टीम बनाएकोले उपचारका बिषयमा चिन्ता लिनु नपर्ने जानकारी गराएका थिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले डा. यादव उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण अस्पताल भर्ना भएको जानकारी दिए । डा. यादवको उपचारका मुटुरोग विज्ञहरु डा.भगवान कोइराला, डा. रत्नमणी गजुरेल, डा. समिर पौडेल लगायतको टीम संलग्न रहेको डा. बस्नेतले जानकारी दिए ।
डा.बस्नेतका अनुसार डा. यादवको उक्तचाप नियन्त्रणमा छैन । तर उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको उनले जानकारी दिनुभयो । मन्त्री बस्नेतले डा. यादवको उपचारमा कुनै कमि हुन नदिन न्याम्सका उपकुलपति डा. बस्नेतलाई निर्देशन दिए ।
त्यसैगरि स्वास्थ्य मन्त्री बस्नेतले वीरमै उपचार गराइरहेका कोशी प्रदेशका भौतिक व्यवस्था मन्त्री एकराज कार्की र नेपाली कांग्रेसमा सहमहामन्त्री एवं पुर्व मन्त्री महेन्द्र यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था र उपचारका बिषयमा जानकारी लिएका छन् । मन्त्री बस्नेत आजमात्र जनसंख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर इजिप्टबाट स्वदेश फर्किएका हुन ।