काठमाडौं, २३ फागुन २०८१
मिनभवनस्थित निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ। आवेदन दिएका १० जनामध्ये प्रस्तूतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम निर्देशकका लागि सिफारिस गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कार्यकारी निर्देशकका लागि डा. रुद्र मरासिनी, डा. मोहनचन्द्र रेग्मी र डा. प्रमोद यादवको नाम सिफारिस भएको छ।
सिफारिसमा परेका मध्ये डा. मरासिनी स्वास्थ्य सेवा अन्तर्गत ११औं तहमा कार्यरत अर्थोपेडिक सर्जन हुन्। डा. मरासिनीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक र भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिसकेका छन्। यसका साथै उनले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
डा. यादव स्वास्थ्य सेवा अन्तर्गत १० औं तहका जनरल सर्जन हुन्। डा. यादब यसअघि ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा तीन पटक र जनकपुर अस्पतालको सुपरिटेन्डेन्ट भइसकेका छन्।
डा. रेग्मी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। उनी यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार थिए। प्रतिष्ठानको रजिष्ट्रार हुँदा विवादमा आएपछि उनले बिचमै राजीनामा दिएका थिए। उनी हाल काजमा निजामती अस्पतालमा कार्यरत छन्।
मुख्यसचिव अध्यक्ष रहेको अस्पताल विकास समितिले निर्देशक नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो। अस्पताल विकास समिति गठन आदेश अनुसार समितिले सिफारिसमा परेका तीनजनामध्ये एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्नेछ। समितिमा सामान्य प्रशासन मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव सदस्य रहने छन्। यसका साथै समितिमा चिकित्सा क्षेत्रबाट मनोनित एक जना सदस्य समेत रहेका छन्।
कार्यकारी निर्देशकको नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० गते आवेदन खुला गरेको थियो। मन्त्रालयले १५ दिनको समय दिएर खुलाएको आवेदनमा निर्धारित समयभित्र १० जनाले आवेदन दिएका थिए।
आवेदन दिनेहरुमा अस्पतालका हालका निर्देशक डा. विधाननिधि पौडेल, डा. विशेष पौडेल, डा. रुद्र मरासिनी, डा. मोहनचन्द्र रेग्मी, डा. रोशन न्यौपाने, डा. अजित खनाल, डा. अनुज रायमाझी, डा. विश्वराम पौडेल, डा. प्रदिप यादव र डा. श्रवण कुमार थापा रहेका छन्। अस्पतालका हालका निर्देशक डा. पौडेलको कार्यकाल फागुन २५ गतेबाट सकिँदै छ।