शालीनता उहाँको बोलीमा भन्दा पनि व्यवहारमा बढी झल्किन्छ। सर्ट-पाइन्ट, कोट र सिरमा ढाकाटोपी लगाएका उनि बिरामीलाई एम.आर.आई गर्न आउँदा ध्यान दिनुपर्ने कुराका बारेमा बुझाउदै थिए मैले भेट्दा । छोटो समयमा नेपालमा गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्डियाक एमआरआई शुरु भई सय भन्दा बढी कार्डियाक एमआरआई भएको छ। यसै सन्दर्भमा गंगालाल राष्ट्रिय हृदय केन्द्रका रेडियोलोजी विभाग प्रमुख डा. निर्मल प्रसाद न्यौपाने सँग स्वास्थ्य पत्रकार नमराज भट्टले गरेको कुराकानीको सराशं :
एउटा साधारण मानिसले बुझ्दा कार्डियाक एमआरआईलाई कसरी बुझ्न सकिन्छ?
सामान्य भाषामा भन्नुपर्दा चिरफार नगरी मुटुको सम्पूर्ण कार्य क्षमता, मुुटुको चाल, भल्भको कार्यक्षमता र मुटु तथा फोक्सोमा आउने तथा जाने रगतको सम्पूर्ण विश्लेषण नै कार्डियाक एमआरआई हो । यसले मुटुमा आउने रगत र जाने रगतको परिमाण, सिस्टममा जाने रगत र फोक्सोमा जाने रगत बराबर भए/नभएको, मुटुले राम्रोसँग काम गरे/नगरेको, मुटुको कुन च्याम्बरले कति काम गरेको छ, भल्भ साँधुरो भए/नभएको लगायत मुटुको सम्पूर्ण कार्य र समस्याबारे विश्लेषण सहितको जानकारी प्रदान गर्छ ।
कार्डियाक एमआरआईबाट के कस्ता जटिल समस्या पहिचान गर्न सकिन्छ ?
मुटुको नसा बन्द भएका बिरामीहरुमा नसा खोल्दा मुटुको मांशपेशीले काम गर्ने /नगर्ने पत्ता लगाउन सकिन्छ। हाइपरट्रफिक कार्डियोमायोपेथि भएका विरामीहरुको मुटुमा कति प्रतिशत स्कारीङ भएको छ (खत बसेको छ), मुटुबाट रगत बाहिर आउने ठाउँ साँगुरो भएको छ कि छैन पत्ता लाग्छ। मायोकार्डाइटिस भएका बिरामीहरुमा मुटु सुन्नेको भाग कति छ, मुटुको कार्य कस्तो छ र भविष्यमा मुटुको कार्यक्षमता राम्रो हुने सम्भावना कतिको छ भनेर पत्ता लगाउन सकिन्छ। त्यस्तै कार्डियाक एमआरआईको मद्दतले भल्बको समस्या, वंशानुगत मुटुरोगको समस्या पनि सजिलै मुल्यांकन गर्न सकिन्छ ।
कार्डियाक एमआरआई गर्दा बिरामीले के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
कार्डियाक एमआरआई गर्ने अघिल्लो दिन मुटुको चालमा फरक पार्नसक्ने चिज जस्तै कफी, कोला ड्रिंक, क्याडवरी चक्लेट खान हुँदैन । कसैकसैलाई एमआरआईमा प्रयोग हुने नर्मल कन्ट्रासले पनि एलर्जी हुनसक्छ । त्यसैले एमआरआई गर्नुपूर्व कन्ट्रासको एलर्जीबारे जाँच गर्नुपर्छ । त्यस्तै गर्भवती महिलाको एमआरआई गर्दा आवश्यकताअनुसार योजना बनाउनुपर्छ । एमआर ॐआई गर्दा प्रयोग गरिने औषधि मिर्गौलाले फिल्टर गर्न सक्ने वा नसक्ने सम्बन्धि जाँच पनि गर्नुपर्छ ।
कार्डियाक एमआरआई गर्न कतिको सजिलो या अफ्ठ्यारो छ?
मस्तिष्क, जोर्नी आदिको एमआर आईमा स्थिर अवस्थामा इमेजिङ लिएर बिरामीको समस्या सजिलै पहिचान गर्न सकिन्छ । तर कार्डियाकमा त्यस्तो हुँदैन । मुटुको धड्कन भइरहने र यसरी धड्कन भइरहेको मुटुको एमआरआई गरेर तस्विर निकाल्न अरु स्थिर अवस्थाको जस्तो सहज हुँदैन । कार्डियाक एम आरआईमा विभिन्न कोणबाट मुटुको अवलोकन गर्नुपर्छ ।
कुनै पनि कुरा सुरुवात गर्दा अप्ठ्यारो हुन्छ भन्छन्, कार्डियाक एमआरआई लाई नेपालमा संस्थागत गर्न तपाइँलाई कतिको अप्ठ्यारो पर्यो?
आज सम्म आइपुग्दा हामीले शहीद गंगालाल हिर्दय केन्द्रमा सय भन्दा बढी कार्डियाक एमआरआई गर्न सफल भएका छौं। शुरुवाती दिनहरुमा धेरै अप्ठ्यारो /चनौतिहरू आएका थिए। धेरैजस्तो डाक्टरहरुलाई कार्डियाक एमआरआई बारे पनि थाहा थिएन, कार्डियाक बिरामीलाई कहाँ पठाउने, कसरी पठाउने, यस्तो उपचार हाम्रो देशमा सम्भव होला कि नहोला भन्ने कुरामै अलमल थियो । ती अन्यौलताहरुलाई हामीले चिरेर अहिले जो सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भित्र र बाहिरको सम्पुर्ण हृदय रोग भएका बिरामीलाई कार्डियाक एमआरआई आवश्यकता परेको खण्डमा राम्रोसँग गरेर पठाउन सक्ने गरी हामी सफल भएका छौं।
यति धेरै एमआरआई गरिसक्दा हाम्रो समुदायमा कस्ता कस्ता मुटु सम्बन्धी रोगहरु व्यापक रहेछन त डाक्टर साब ?
कार्डियाक एमआरआई गर्न आएका बिरामी मध्ये मुटुको नसा ब्लक भएर हुने समस्या सबभन्दा कमन हामीले देखेका छौं । नशा ब्लक भइसकेपछि सिटिस्क्यान एन्जिओ बाट ब्लक भएको नसा पत्ता लगाइन्छ। ब्लक भएपछि मुटुको मांशपेसीले काम गरेको छ कि छैन भनेर चाहिँ कार्डियाक एमआरआई बाट हेरिन्छ । ब्लक भएको नसा खोल्दा फाइदा हुन्छ या हुँदैन, ब्लक भएको नसा लाई स्टेन्ट गर्नेकि बाइपास गर्ने सबैकुरा कार्डियाक एमआरआईको रिजल्टमा डिपेन्ड गर्छ। अर्को हामीले कमनली देखेको भनेको hypertrophic cardiomyopathy हो । मुटुको वाल मोटो भई मुटुको रगत पम्प गर्ने क्षमतामा कमी आउनु र मुटुमा स्कारीङ/खत बस्दै जानुलाई कार्डियोमायोपेथी भनिन्छ। कार्डियाक एमआरआईले cardiomyopathy diagnose मात्र गर्दैन, आउँदा दिनहरुमा बिरामीको अवस्था कस्तो हुन्छ, के-के समस्याहरु हुन सक्छन त्यो नि पहिचान गर्न मद्दत गर्छ। अहिले कोभिड महामारीको बेलामा हामीले धेरै जनाको मुटु सुन्निने अवस्था (myocarditis) भएको नि देख्यौ। मुटुको भल्भको समस्या, वंशानुगत मुटु रोगहरु नि हामीले कार्डियाक एमआरआई बाट मुल्यांकन गरेर हेर्ने मैका पायौं यो छोटो अवधिमा।
कार्डियाक एमआरआई गरेको कति समय पछि रिपोर्ट आउँछ ?
कार्डियाक एमआरआईको रिपोर्ट वा नतिजा २४ घण्टाभित्र उपलब्ध गराइन्छ । बिरामीको सम्पूर्ण कागजात नपुगेको र सम्बन्धित चिकित्सकसँग अन्य जानकारी लिनुपर्ने अवस्थामा भने केही बढी समय लाग्नसक्छ ।
यसमा खर्च कति लाग्छ ?
बिरामीको रोगको प्रकार र गर्नुपर्ने जाँच अनुसार यसमा लाग्ने खर्च फरक हुन्छ । औषधि दिनुपर्ने/ नपर्ने अवस्था हेरेर पनि खर्च फरक पर्छ । समग्रमा भन्नुपर्दा एउटा कार्डियाक एमआरआई गरेको खर्च १२ देखि १८ हजारसम्म लाग्नसक्छ।
कार्डियाक एमआरआईको लामो र अफ्ठ्यारो यात्रा तय गर्दा तपाईंले धेरै मेहनत त अवश्य गर्नुभयो होला, हजुरको मेहेनत बाहेक अरु कसैलाई सम्झन या धन्यवाद दिन चाहनुहुन्छ?
यो यात्रा अवश्य पनि अप्ठ्यारो र चुनौतीपुर्ण थियो तर, असम्भब थिएन। यो एकजनाले गर्न सक्ने काम थिएन, यसमा धेरैजनाको मेहनत र मार्गदर्शन लागेको छ। सर्वप्रथम म गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी लाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । त्यस्तै हाम्रो गंगालाल राष्ट्रिय हृदय केन्द्रका सिनियर एमआरआई टेक्निसियन इन्देश ठाकुर, जसले कार्डियाक एमआरआईका सुरुवाती दिनमा असाध्यै मेहनत गर्नुभयो, वहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। मलाई मार्गदर्शन गर्ने र सँधै अगाडी बढ्न प्रेरित गर्ने प्रा.डा. राम कुमार घिमिरे र प्रा. डा. सुनिल प्रधान लाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सबैको सहयोग र सदभावनाले नै हामीले नेपालमा कार्डियाक एमआरआईलाई संस्थागत गर्न सफल भएका हौं। अगामी दिनहरू झन चुनौतिपुर्ण छन, जुन बिश्वास लिएर बिरामीहरु हाम्रोमा आउछन् त्यो विश्वास र गुणस्तर कहिल्यै नटुटोस् भन्ने हाम्रो प्रयत्न सँधै रहनेछ।