बाँके, २० भाद्र २०७९
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक स्त्री रोगसम्वन्धी ल्याप्रोस्कोपी सर्जरी सेवा सुरु भएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–२ की २२ वर्षीया महिलाको ल्याप्रोस्कोपी सर्जरी गरिएसँगै भेरीमा यो सेवा सुरु भएको हो । पाठेघरमा बस्नु पर्ने बच्चा ट्युवमा बसी ट्युव फुटेको अवस्थामा ती महिलाको ल्याप्रोस्कोपी सर्जरी गरिएको थियो ।
ती महिला बच्चा बसेको करिव एक महिना पछि पेटको दुखाइ भएर अस्पताल गएकी थिइन् । आवश्यक चेकजाँच गर्दा बच्चा ट्युवमा बसेर ट्युव फुटेको अवस्थामा पाइएपछि तत्काल ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरिएको शल्यक्रियामा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले जानकारी दिनुभयो ।
डा. सुबेदीको नेतृत्वमा अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापा, एनेस्थेसियोलोजिष्ट डा. अभिषेक मदनवाल, डा. राजेश देसार र नर्सिङ स्टाफ तारा आचार्य लगायतको टोलीले शल्यक्रिया गरेका हुन्।
भेरीमा यस अघि स्त्री रोगसम्वन्धी ल्याप्रोस्कोपी सर्जरी सेवा थिएन । लामो समय प्रसूति गृहमा कार्य अनुभव संगाल्नु भएका डा. सुवेदीको आगमनसँगै भेरीमा ल्याप्रोस्कोपी सर्जरी सेवा सुरु भएपछि यसक्षेत्रका बिरामी लाभान्वित हुने भएका छन् ।
डा. सुवेदी यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा कार्यरत थिए।