चितवन, ५ मंसिर २०८१
भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राफी सेवा शुरु गरेको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेमोग्राफी मेसिन बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन जडान गरेर अस्पतालले पुनः सेवालाई शुरु गरेको हो।
अस्पतालका उपनिर्देशक डा. उमेश नेपालले ईटालीमा बनेको आईएमएस जिओट्टो (IMS Giotto) कम्पनीको डिजिटिल मेमोग्राफी स्वास्थ्य सेवा विभागले खरिद गरी अस्पताललाई उपलब्ध गराएको बताउनुभयो ।
डा. नेपालका अनुसार अस्पतालमा यो मेसिन भएपनि बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको थियो । सो बिग्रिएको मेसिन मर्मत हुन नसक्ने भएपनि नयाँ खरिदका लागि स्वास्थ्य मन्त्रालयमा आग्रह गरिएको र मन्त्रालयले विभाग मार्फत् मेसिन उपलब्ध गराएको हो।
अस्पतालमा यो मेसिन एक महिना अघि नै आएको भएपनि कम्पनीका प्राविधिकहरु जडानका लागि आईपुग्न ढिलो हुँदा हिजोदेखि सञ्चालनमा ल्याईएको डा. नेपालले जानकारी दिनुभयो । स्तन क्यान्सरको परीक्षणमा अति प्रभावकारी यो मेसिन जडान र सेवा सुरु भएसँगै स्तन क्यान्सर समयमै पत्ता लगाई प्रभावकारी उपचार सुरु गर्न अझ बढी सहयोग मिल्ने उनले बताए।
तीन करोड हाराहारी पर्ने उक्त मेसिन आएसँगै सेवालाई अझ उपचार गर्न सहयोग मिलेको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताउनुभयो । डा. पौडेलका अनुसार “पछिल्लो समय अस्पतालमा भएका पुराना मेसिन उपकरणको मर्मत गर्ने, आवश्यक परेका उपकरण नयाँ खरिद गरी सेवालाई थप प्रभावकारी बनाएका छौँ ।”
क्यान्सरको उपचार र परीक्षण प्रक्रिया अन्य रोगको भन्दा लामो हुने र बिरामीले धेरै समय सम्म पालो कुर्नुपर्ने अवस्थालाई घटाउँदै लगेका निर्देशक डा. पौडेलले बताए । अब अस्पतालमा रेडियोलोजी, शल्यक्रिया र प्रयोगशाला जस्ता सेवामा धेरै लामो पालो कुर्नु पर्ने अवस्था छैन ।
विगतमा कतिपय प्रयोगशाला परीक्षण बाहिर पठाउनु पर्ने बाध्यता रहेको भन्दै डा. पौडेलले त्यसलाई अन्त्य गरिएको बताउनुभयो । दुई वटै सिटी स्क्यान मेसिन सञ्चालन गरेर नियमित सेवा दिएको उहाँले बताउनुभयो । डा. पौडेलले भन्नुभयो “अब कुनै पनि परीक्षण र शल्यक्रियाका लागि अस्पताल बाहिर जानु पर्ने बाध्यता छैन । बोनम्यारो प्रत्यारोपण बाहेक सम्पूर्ण सेवा अस्पतालमै उपलब्ध छन् ।”
अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि समेत चिनिया सरकारको सहयोगमा काम भईरहेको भन्दै डा. पौडेलले निकष्ट भविष्यमा नै यो सेवा समेत सञ्चालन गरिने जानकारी दिनुभयो।