कैलाली, २६ चैत २०८१
भक्तपुर क्यान्सर अस्पतालको टोलीले सुदुरपश्चिम प्रदेशको दोदधारा अस्पतालमा आज महिलाहरुको पाठेघर र स्तन क्यान्सर परीक्षण गरिरहेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा क्यान्सर अस्पताल भक्तपुरको टोली एक हप्ते अभियानमा लिएर सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगेको हो।
भक्तपुर क्यान्सर अस्पातलको टोलीले चैत्र २२ गते अछामको रामारोसन गाउँपालिका र चैत्र २४ गते डडेल्धुराको अमरगढी नगरपालिमा शिविर सञ्चालन गरी महिलाहरुको पाठेघर र स्तन क्यान्सर परीक्षण गरेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो।
उक्त शिविरका लागी डा. उज्जवल चालिसेको नेतृत्व २२ जनाको टोली सुदुरपश्चिममा रहेको छ।
अछाम र डडेल्धुरामा स्वास्थ्य जाँच गरि फर्केको टोलीसँग सोमबार मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुदुरपश्चिममा महिलामा हुने पाठेघर र स्तन क्यान्सरको स्वास्थ्य अवस्थाको वारे जानकारी लिएका छन्।
मुख्यमन्त्री शाहले कुनैपनि महिलाले यो समस्याबाट अकालमा ज्याज गुमाउन नपरोस भनी भक्तपुर क्यान्सर अस्पतालसँग महिलाहरुको स्वास्थ्य जाँचका लागि पहल गरेको बताउनुभयो। सुदुरपश्चिमका महिलाहरुमा आँङ्ग खस्ने, पाठेघर र स्तन क्यान्सर समस्याका कारण यस क्षेत्रका महिलाहरुले पीडा भोग्नु परेको छ।
निशुल्क शिविरमा अछाम २ सय ६० जना महिलाको पाठेघर र ३ सय ५० जनामा स्तन क्यान्सर र डडेल्धुरामा १ सय ५० जना महिलाको पाठेघर र १ सय ७० जनामा स्तन क्यान्सरको परीक्षण गरिएको डा. वर्षा प्रसाईले जानकारी दिइन्। उनले अछामका ५ जनामा पाठेघर र १५ जनामा स्तन क्यान्सर र डडेल्धुरामा २० जनामा पाठेघर र २० जनामा स्तन क्यान्सरको शंका लागेकोले थप उपचारका लागि रेफर गरिएको बताइन्। डडेल्धुरामा १ जनामा देखिएको क्यान्सरका कारण अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिको सहयोगमा क्यान्सर अस्पतालमा तत्काल उपचारका लागि रेफर गरिएको छ।
शंका लागेर रेफर गरिएका विरामीले स्वास्थ्य बीमा कार्ड रेफर र कार्ड देखाइ जुनसुकै अस्पतालमा निःशुल्क क्यान्सर परीक्षण गर्न सक्ने बताइएको छ। स्वास्थ्य जाँचका लागि ८ वर्षको वालिका देखि ६० वर्ष माथिको महिलाहरु सहभागी रहेका छन्।
डा. प्रसाइले लजाउने, जनचेतनाको कमी, आर्थिक अवस्था कमजोर र यहाँको यातायातको समस्याका कारण स्वास्थ्य परिक्षण गर्न कम महिला आएको बताइन्। शिविरमा आएका करिब ८० प्रतिशतलाई सामान्य स्वास्थ्य समास्या देखिएकोले ५ देखि ७ दिनसम्मको निःशुल्क औषधी दिइएको छ।